Logo

आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन

अ+ अ-

काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबिच तादात्म्य मिलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिनुभएको छ । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उहाँको भनाइ छ ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रक्रlया अघि बढाउँदा हुने धारणा व्यक्त गर्नुभयो । बैठकमा चालु आव २०८१/८२ को पुँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चित भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमका सम्बन्धमा रकमान्तरलगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताउनुभयो । उहाँले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमका सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारका दिन पनि काम गर्ने बताउँदै प्रक्रिया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई अनुरोध गर्नुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयका सचिवहरू उपस्थित हुनुहुन्थ्यो ।