काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत, व्यावसायिक र अग्रिम कर कट्टीतर्फ गरी यी करदाताले नयाँ स्थायी लेखा नम्बर (प्यान) लिएका हुन् ।
विवरण अनुसार थपिनेमा सबैभन्दा धेरै व्यक्तिगततर्फ मात्रै चार लाख ८० हजार ७० जना छन् । व्यावसायिकv ९१ हजार ७३३ करदाता थपिएर कुल २० लाख ३५ हजार ८७४ पुगेको देखिएको छ । गएको असार मसान्तसम्म यो सङ्ख्या १९ लाख ४४ हजार १०१ थियो । अग्रिम कर कट्टी सुविधासहितको प्यान (डब्लु–प्यान) लिनेको सङ्ख्या एक हजार ८३९ मात्रै थपिएको छ ।
यस अनुसार नेपालमा गत चैत मसान्तसम्म कुल ६७ लाख ९९ हजार ८१५ पुगेको छ । चैतसम्म व्यक्तिगत प्यान लिनेको सङ्ख्या ४७ लाख २८ हजार ७४४ पुगेको छ । व्यावसायिकतर्फ २० लाख ३५ हजार ८७४ पुगेको छ । डब्लुप्यान लिनेको सङ्ख्या ३५ हजार १३७ छ ।
करदाता दर्ता विवरण अनुसार मूल्य अभिवृद्धि करतर्फ १८ हजार ५६१ थपिएर तीन लाख ४५ हजार ९७८ पुगेको छ भने एक्साइजतर्फ छ हजार ८९६ थपिएर एक लाख २४ हजार २६४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।