वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ ।कार्यालयले तथ्यांक अनुसार चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातका लागि एक खर्ब ५५ अर्ब ९४ करोड रुपियाँ खर्च भएको छ ।
आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा ४६.२६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए।
त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपूजा आयातबाट १५ अर्ब २४ करोड राजस्व प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपूर्जाको हिस्सा भने १०.९३ प्रतिशत रहेको छ ।
त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ । मेसिनरी तथा पार्टपूर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपूर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । शृङ्गारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको छ ।