मकवानपुरगढी- बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा योजना निर्माणको करिब अन्तिम चरणमा पुगेको छ । आगामी असार १ मा बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले मन्त्रालयको गेटमा ताल्चा लगाएर आन्तरिक भेटघाटसमेत बन्द गरेको छ ।
सरकारले आगामी बजेट उत्पादनसँग केन्द्रित रहेर निर्माण गर्ने तयारी गरिरहेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बताउनुभयो । सरकारले आगामी वर्ष कृषि तथा पर्यटन प्रवर्धन, समावेशी आर्थिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षणलगायतका विषयलाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो ।
सङ्घीय सरकारबाट प्राप्त अनुदान, आन्तरिक राजस्व र विदेशी सहयोगलाई लक्षित गरी बजेटको आकार निर्धारण भइरहेको उहाँले जानकारी दिनुभयो । चालु आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आवका लागि बजेटको आकार केही बढाउने तयारी गरेको छ । सरकारले यसअघि ५५ अर्बको बजेट सिलिङ तोकेको थियो । बाध्यात्मक योजनाका कारण तोकिएभन्दा १० अर्ब बजेट बढाएर कुल ६५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको स्रोतले जनाएको छ ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालले मङ्गलबारसम्म प्रदेशका १४ वटै मन्त्रालयले आफ्ना कार्यक्रम तथा योजनालाई अन्तिम रूप दिने बताउनुभयो । उहाँले प्रदेश सभाका सांसद पनि आफ्नो निर्वाचन क्षेत्रका लागि योजना पेस गर्नेतर्फ जुटिरहेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “सङ्घीय सरकारले तीन करोडको योजना सिलिङ तोकेपछि केन्द्रदेखिका सङ्घीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको भिड लागेको छ । जसले योजना व्यवस्थापन गर्न चुनौती देखिएको छ ।”
नगरपालिका, गाउँपालिकादेखि वडाका सदस्यसमेत योजना माग गर्न आएका छन् । यसले प्रदेश सरकारप्रति जनताको ठुलो अपेक्षा रहेको देखिएको छ । प्रदेश संरचना खारेज हुनु पर्छ भन्ने भाष्यलाई यो भरोसाले तोडेको अनुभूति भएको उहाँले बताउनुभयो ।