जनकपुरधाम। उद्योग वाणिज्य संघ जनकपुरले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडित परिवारका लागि करिब १ करोड मूल्य बराबरको राहत सामग्री पठाएको छ।
संघले मानवीय सेवामा हाम्रो एकता भन्ने नारासहित एक हप्तासम्म सार्वजनिक अपिल गरी उक्त सामग्री संकलन गरेको हो।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्योगी तथा व्यवसायीहरूको तर्फबाट सहयोग जुटाइएको बताए। सवारी साधनको अभावका कारण राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन केही ढिलाइ भए पनि मंगलबार सार्वजनिक गरिएका सामग्री बुधबार पठाइएको छ।
राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र सरसफाइका सामानहरू समावेश छन्। संघका अनुसार लत्ताकपडाहरूमा १ हजार ३ सय ७० थान लेडिज सुट, १ हजार ४ सय ४४ थान साडी, १ हजार ८ सय ५२ थान जेन्ट्स सर्ट, १ हजार ३ सय ४४ थान ट्रयाक सुट सेट, ७ सय ६५ थान बालबालिकाको कपडा र ४ सय ६५ थान जिन्स पाइन्ट रहेका छन्।
त्यसैगरी खाद्यान्नतर्फ ७५ बोरा चामल, ४१ बोरा चिउरा, २८ बोरा मुरही, २१ बोरा सोयाबिन, ३१ कार्टुन चाउचाउ, ४ बोरा नुन र १ बोरा दाल पठाइएको छ। साथै, ७५ थान तावा तथा कराही, २ सयका दरले थाल, कचौरा र ग्लासका साथै सरसफाइका सामग्री, जुत्ता-चप्पल र एक थान कपडा सिलाई मेसिन पनि राहतमा समावेश गरिएको संघले जनाएको छ।
