चितवन। तरकारीमा विषादीको प्रयोग बढेसँगै भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित महानगर तरकारी तथा फलफूल थोकबजारमा रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा परीक्षणको दायरा बढाइएको छ। परीक्षणलाई तीव्रता दिएपछि किसानले विषादी प्रयोग गरेलगत्तै तरकारी बजारमा ल्याउने क्रम घटेको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए।
प्रयोगशालाले चितवनसहित विभिन्न जिल्लाबाट आएका तरकारी तथा फलफूलका नमुना परीक्षण गर्दै आएको छ। गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नमुना परीक्षण गरिएको थियो। जसमध्ये एक हजार १५८ नमुनामा ३५ प्रतिशतभन्दा कम विषादी पाइएको थियो, जुन उपभोगका लागि सुरक्षित मानिन्छ। त्यस्तै, १० वटा नमुनामा ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएकाले ती तरकारी केही दिन पर्खेर मात्र उपभोग गर्नुपर्ने अवस्था थियो। ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका चार वटा नमुना र सोसँग सम्बन्धित तरकारी भने उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै नष्ट गरिएको कँडेलले बताए।
प्रयोगशालाको तथ्यांक अनुसार आव २०८१/८२ मा ९०७ नमुना परीक्षण गर्दा पाँच वटा नष्ट गरिएको थियो भने आठ वटा केही दिनपछि उपभोग गर्न मिल्ने अवस्थामा थिए। त्यसैगरी, आव २०८०/८१ मा ५९० नमुना परीक्षण भएकामा चार वटा नष्ट र नौ वटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने अवस्थाका थिए।
प्रयोगशालामा गोलभेडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग र घ्युसिमी लगायतका तरकारी तथा फलफूलको नियमित परीक्षण गरिन्छ। किसानलाई विषादीको प्रयोग र त्यसले मानव स्वास्थ्यमा पार्ने असरबारे सचेतना जगाउने कार्य पनि भइरहेको कार्यालयले जनाएको छ।
