सुर्खेत। सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त हुने अनुदानको लोभमा स्थापना गरिएका सुर्खेतका अधिकांश उद्योग खारेज भएका छन्।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय खारेज हुनेमा विशेषगरी कृषि क्षेत्रका उद्योगहरूको सङ्ख्या उच्च छ।
कार्यालय प्रमुख मुकुन्दनाथ योगीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्र ३०३ वटा उद्योग खारेज भएका छन्। जसमा २५४ वटा उद्योग र ४९ वटा वाणिज्यतर्फका रहेका छन्। अनुदान पाउने आशामा उद्योग दर्ता गर्ने र अनुदान पाएपछि वा पाउन नसकेपछि सञ्चालन नगर्ने प्रवृत्तिले गर्दा यस्तो अवस्था आएको योगीले बताए।
पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा सुर्खेतमा ८६४ वटा उद्योग खारेज भएका छन्। आव २०८०/८१ मा २४६, आव २०८१/८२ मा ३१५ र आव २०८२/८३ मा ३०३ वटा उद्योग खारेज भएका हुन्। सोही अवधिमा जिल्लामा दुई हजार ८०२ वटा उद्योग दर्ता भएका थिए। खारेजीको तुलनामा नयाँ दर्ता हुने उद्योगको सङ्ख्या तेब्बर रहेको कार्यालयले जनाएको छ।
यद्यपि, गत आवमा दर्ता भएका उद्योगहरूबाट १७ सयभन्दा बढीले रोजगारी पाएका छन्। कार्यालयका अनुसार ९९५ पुरुष र ७५६ महिला गरी कुल एक हजार ७५१ जनाले रोजगारी पाएका हुन्। दर्ता भएकामा धेरै जसो सेवामूलक उद्योग छन् भने त्यसपछि पर्यटन, कृषि, वनपैदावार, उत्पादनमूलक र ऊर्जामूलक उद्योग रहेका छन्।
औद्योगिक ग्राम तथा कोसेलीगृह सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले अनुदानको लोभमा खोलिएका उद्योग खारेज हुँदा वास्तविक उद्यमीको बदनाम हुने गरेको बताए। उनले यस्ता उद्योगको स्थापना हुनुअघि नै प्रभावकारी अध्ययन र अनुसन्धान हुनुपर्नेमा जोड दिए।
