काठमाडौं। कैलालीको टीकापुरका हिक्मत थापा अफ्रिकाको प्रतिष्ठित ‘बेस्ट सीईओ लिडरशिप अवार्ड-२०२६’ बाट सम्मानित भएका छन् । अफ्रिकाको लागोसमा आयोजित अफ्रिका ब्रान्ड अवार्डको २०२६ संस्करणमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
थापा डाङ्गोटे ग्रुपअन्तर्गतको डाङ्गोटे सिनोट्रक वेस्ट अफ्रिका लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेबापत उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
लागोसमा विगत १४ वर्षदेखि आयोजना हुँदै आएको अफ्रिका ब्रान्ड अवार्डले अफ्रिकाका उत्कृष्ट ब्रान्ड, उद्योग, व्यापारिक संस्था र नेतृत्वलाई सम्मान गर्दै आएको छ । यस वर्ष २५ भन्दा बढी विधामा विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो ।
थापा विगत २० वर्षदेखि डाङ्गोटे ग्रुपमा आबद्ध छन् । उनले यस अवधिमा चाउचाउ, चिनी, वनस्पति तेल, टमाटर पेस्ट, राइस मिल, सिजनिङ र हेभी भेहिकल्सलगायत विभिन्न उद्योग तथा परियोजनाको नेतृत्व गरिसकेका छन् । नेपाल, भारत र अफ्रिकामा औद्योगिक परियोजना स्थापना तथा सञ्चालनका क्षेत्रमा थापासँग ३५ वर्षभन्दा बढीको अनुभव छ ।
