काठमाडौं। सप्तरीको विष्णुपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको प्राविधिक समस्या समाधान गर्न आइरिस डिभाइस जडान गरेको छ। औँठाछाप नमिलेर भत्ता लिन सास्ती खेपिरहेका ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई लक्षित गरी यो प्रविधि प्रयोगमा ल्याइएको हो।
उमेर बढ्दै जाँदा औँलाका रेखा स्पष्ट नहुने वा छालामा आउने परिवर्तनका कारण धेरै लाभग्राहीको फिङ्गर प्रिन्ट भेरिफिकेसन हुन नसक्ने समस्या थियो। यसले गर्दा उनीहरूले भत्ता लिन पटक-पटक बैंक वा सम्बन्धित निकायमा धाउनुपर्ने बाध्यता थियो। अब आइरिस डिभाइसको प्रयोगबाट यस्ता लाभग्राहीको आँखाको नानीमार्फत सहजै पहिचान गरी भत्ता उपलब्ध गराउन सकिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवका अनुसार भत्ता वितरणलाई थप सहज, सरल र प्रभावकारी बनाउन यो प्रविधि प्रभावकारी हुनेछ। गाउँपालिकाले सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै वडामा आइरिस डिभाइस उपलब्ध गराउने योजना अघि सारेको छ। यसबाट लाभग्राहीले भोग्दै आएको सास्तीको अन्त्य हुने विश्वास लिइएको छ।
