Logo

साठी अर्बको प्रतिबद्धता दस अर्ब भित्रियो

अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६० अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । कुल लगानीको ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख रुपियाँ सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटन क्षेत्रमा ४० प्रतिशत अर्थात् २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावार क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपियाँ, उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमा एक अर्ब ९७ करोड ३९ लाख, ऊर्जा क्षेत्रमा दुई करोड ५५ लाख र पूर्वाधारमूलक क्षेत्रमा पाँच करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै ७०२ साना उद्योग, नौ मझौला र छ वटा ठुला उद्योग रहेका छन् । नीतिगत सुधारसँगै लगानी प्रतिबद्धतामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेको थियो । सुरुदेखि हालसम्म सात हजार ११६ उद्योगमा पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि सो अनुपातमा न्यून लगानी भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।

यसैबिच नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको १० महिनामा साढे १० अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । साउनदेखि वैशाखसम्म १० अर्ब ६० करोड वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा सात अर्ब पाँच करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको तुलनामा तीन अर्ब ५५ करोड रुपियाँ बढी भित्रिएको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारले लगानी प्रतिबद्धता रकमसँगै नेपालमा भित्रिने रकमसमेत बढेको तथ्याङ्कले देखाएको छ । यस्तै १० महिनामा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पाँच अर्ब २६ करोड खुद पुँजीगत ट्रान्सफर भएको थियो ।