विराटनगर। एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशी बाढीबाट प्रभावितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
उद्योगी भीम घिमिरे र अजिता घिमिरेले उक्त रकम बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश समितिका संस्थापक अध्यक्षसमेत रहेका भीम घिमिरेले विपद्को घडीमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताए। उनले भने, ‘विपत्तिमा परेका परिवारलाई केही राहत होस् भनेर आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौँ।’
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि विभिन्न सङ्घसंस्था र निजी क्षेत्रले राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाइरहेका छन्।
