काठमाडौं। आईसीटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने कार्यक्रममा डिजिटल रेजिलियन्स, गभर्नेन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रका विषयमा छलफल गरिनेछ। यसअघि भदौ ११ गतेका लागि तय भएको उक्त कार्यक्रम रसुवामा आएको बाढी-पहिरोका कारण स्थगित गरिएको थियो।
यस वर्षको कन्क्लेभको मुख्य थिम ‘बिल्डिङ डिजिटल रेजिलियन्स: रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ रहेको छ। कार्यक्रममा विपद्का समयमा थप सक्षम, समावेशी र नागरिककेन्द्रित डिजिटल प्रणालीको विकासबारे विशेष छलफल हुने आयोजकले जनाएको छ। आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालका अनुसार कन्क्लेभलाई डिजिटल प्रविधि क्षेत्रका सरोकारवालाबीच संवाद, सहकार्य र नीतिगत छलफलको साझा मञ्चका रूपमा विकास गरिएको छ।
आइतबार बिहान ९ बजे सुरु हुने कन्क्लेभमा तीनभन्दा बढी किनोट स्पिच, पाँचभन्दा बढी प्यानल संवाद, पावर संवाद र डिजिटल लिडरसिप डाइलग सञ्चालन हुनेछन्। कार्यक्रम संयोजक हेमपाल श्रेष्ठका अनुसार ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू वक्ताका रूपमा सहभागी हुनेछन्। साथै, २५ भन्दा बढी कम्पनीले आफ्ना प्रविधि तथा समाधानहरू प्रदर्शनीमा राख्नेछन् भने १० भन्दा बढी इन्नोभेसनले आइडिया पिचिङ गर्नेछन्।
कार्यक्रममा सरकारी अधिकारी, नीतिनिर्माता, निजी क्षेत्र, स्टार्टअप, लगानीकर्ता र प्राज्ञिक क्षेत्रका गरी ५०० भन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ। फाउन्डेसनका सल्लाहकार आनन्दराज खनालले विगत पाँच वर्षदेखि डिजिटल रूपान्तरण र इकोसिस्टम विकासमा कन्क्लेभले योगदान पुर्याउँदै आएको बताए।
