Logo

ठेक्का रद्दपछि अघि बढ्न सकेन पुनर्निर्माण प्रक्रिया

अ+ अ-

काठमाडौँ- धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिब तीन वर्षअघि सुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।

भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपियाँको ठेक्कामा सम्झौता गरी काम सुरु गराएको थियो । सम्झौताअनुसार काम २०८० चैत मसान्तसम्म सकिनुपर्ने थियो । तर निर्माण कम्पनीले तोकिएको समयसीमा पार गरे पनि उल्लेखनीय प्रगति गर्न सकेन । प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्द गरेको छ ।

तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेण्डर, धरौटी जफत र कालो सूचीकरण रोक्का गर्न निर्देशन दिएको छ । यता सडक डिभिजनले पुनः टेण्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।

डिभिजन प्रमुखका अनुसार निर्माणकार्य सुरु गर्न तयार भए पनि कानुनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो । हालसम्म करिब २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ । केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भए पनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ ।

१२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लुबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो । धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने उद्देश्य थियो ।

तर लामो समयसम्म काम रोकिँदा योजनाको उद्देश्य नै सङ्कटमा परेको देखिन्छ । स्थानीयवासी र यात्रुहरू तीन वर्षदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबिच यात्रा गर्न बाध्य छन् । सडकको निर्माणकार्य फेरि कहिले सुरु हुन्छ भन्नेमा अझै अनिश्चितता छ । अब अदालतको अन्तिम निर्णय र अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र परियोजना पुनः शुरुवात हुने देखिन्छ ।