काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।
मङ्गलबार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाल आर्थिक रुपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । नेपाल एयरलाइन्सले पनि आर्थिक व्यावसायिक सफलता हात पार्न नसकेको जानकारी दिनुभयो ।
दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरुले ध्यान दिनुपर्ने बताउनुभयो । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उहाँको भनाइ छ । यस वर्ष गतवर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको बताउनुभयो ।
‘‘हामी निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । देशको अवस्था पनि चुनौतीपूर्ण छ । यहाँ पनि जुन किसिमको व्यवस्थापन र आर्थिक व्यावसायिक सफलता हामीले प्राप्त गर्नुपर्ने हुन्थ्यो, त्यसको चुनौती र अप्ठ्यारोबाट गुज्रिरहेका छौँ । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा यहाँहरुले ध्यान दिनुहुनेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘निष्ठा र योग्यतापूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास छ । यस वर्ष गतवर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा नाचघर देखिएको छ । नेपाल एयरलाइन्ससँग पनि मलाई त्यही अपेक्षा छ, सुधारको सङ्केत देखियोस् ।’’
मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने जानकारी दिनुभयो । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको बताउनुभयो ।