काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभएको हो ।
“निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढ्नुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
प्रतिनिधिमण्डलमा सहभागीले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राह लगायत सहभागी हुनुहुन्थ्यो ।