महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको छ ।शुक्रबार दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी आइपुग्नुभएकf प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।
मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ । उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाे उपस्थिति थियो ।
कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ । बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो ।
काठमाडौंबाट हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री मटिहानीको जलसागरबाट सिधै पुलको उद्घाटनपश्चात् पुलको निरीक्षण गर्नुभएको थियो ।