Logo

स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह

अ+ अ-

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गर्नुभएको छ । विशेष गरी तिज जस्ता सांस्कृतिक पर्वमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

तिजको पूर्वसन्ध्यामा आयोजित २२ औँ सिर्जनशील उद्यमी मेला २०८२ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली महिलाको उद्यमशीलता, सिर्जनशीलता र श्रम देशको आर्थिक परिवर्तनको मेरुदण्ड बन्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब हङकङको सारी होइन, आफ्नै देशमा उत्पादन भएको पहिरन प्रयोग गर्नुस् । यसले तपाईंको सौन्दर्य मात्र बढाउँदैन, देशको अर्थतन्त्र पनि मजबुत हुन्छ ।” उहाँले ब्युटीपार्लरले मात्रै नभई सिर्जनशील उद्यमले मान्छेलाई सुन्दर देखाउने उल्लेख गर्नुभयो ।

विदेशी वस्तुको अन्धाधुन्ध प्रयोगले स्वदेशी उद्योगमा परेको असरप्रति चिन्ता गर्दै उहाँले गार्मेन्टलगायत विभिन्न उद्योगमा विदेशी डिजाइन र श्रमिक प्रयोग हुनु आत्मनिर्भरताको विरोधाभास भएको उहाँले भनाइ छ ।

महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सरकारबाट महिलामैत्री कार्यक्रमहरू जस्तैः सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता अभियान र ‘मेड इन नेपाल’ अभियान प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

उहाँले महिला सिर्जनशील केन्द्रद्वारा सञ्चालन हुँदै आएका व्यावसायिक तालिम, सिप विकास कार्यक्रम र व्यावसायिक सहायताको प्रशंसा गर्नुभयो । निजी क्षेत्र, सामाजिक संस्था र सरकारी निकायबिचको सहकार्यले उद्यमशील वातावरण सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।

मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, घरेलु सामग्री, सौन्दर्य प्रशोधनलगायतका विविध उत्पादनको प्रदर्शनी गरिएको छ । महिला उद्यमीबिच नेटवर्किङ, नवप्रवर्तन र व्यापारिक सहकार्यको राम्रो अवसरका रूपमा मेलालाई लिइएको छ ।