काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई अनुकूल हुने गरी लगानीमैत्री वातावरण बनाइएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्ने गर्नका लागि नीतिगत सुधार गरिएको बताउनुभएको हो ।
निजी क्षेत्रलाई सधैँ साथमा लिएर हिँड्नु पर्छ भन्ने बुझेर नै नीतिगत सुधार भएका छन्, निजी क्षेत्र इमानदारीसाथ राजस्व तिर्न तयार हुनु पर्छ,” उहाँले भन्नुभयो, “निजी क्षेत्र डराउनुपर्ने र आत्तिनुपर्ने कुनै अवस्था छैन ।”
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच राजनीतिक विचारधारा फरक भए पनि मुलुकको आर्थिक विकास र जनताको जीवनस्तर उकास्नका लागि दुई दल एक ठाउँमा उभिएको उहाँको भनाइ थियो । स्थिर सरकार बनेको र गर्नुपर्ने काम धेरै भएको मन्त्री खड्काले बताउनुभयो । विगतमा भन्दा अहिले लगानी बढेको उहाँको भनाइ थियो ।
मन्त्री खड्काले आफू ऊर्जामन्त्री भएपछि मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा विकास मार्गचित्र, २०८१ जारी गरी ऊर्जा क्षेत्रमा प्रस्ट लक्ष्य लिएको स्पष्ट पार्नुभयो । उक्त लक्ष्य पूरा गर्न ६४ खर्ब लगानी आवश्यक पर्ने उहाँले बताउनुभयो ।
उहाँले विद्युत् उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुनर्निर्माण गर्दा केही समय बत्ती जाने गरेको तर लोडसेडिङ भने अब नहुने उहाँले बताउनुभयो ।
उहाँले मधेशमा कृषिमा विद्युतीकरण गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताउनुभयो ।