काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिला उद्यमशीलता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले महिलालाई सिप विकास गरी उद्यमशीलता हासिल गराउन मन्त्रालयले विशेष प्राथमिकता दिएको बताउनुभएको हो ।
महिलालाई व्यवसाय सञ्चालन गर्न अवसरसँगै चुनौती रहे पनि व्यवसायलाई निरन्तरता दिँदै सूचना प्रविधिको प्रयोग, इकमर्सको प्रयोगबाट व्यवसाय विस्तार गर्न सकिने उहाँको भनाइ छ ।
उद्यमी महिलालाई नीतिगत जटिलता, पारिवारिक बोझ र वित्तीय पहुँचको जोखिम रहेकाले यसका लागि मन्त्रालयले सहजीकरण गर्ने काम गरिरहेको मन्त्री सिन्हाको भनाइ छ । पछिल्लो समय उद्यमशीलता विकास गरी महिलाहरू नोकरी गर्ने मानसिकताबाट नोकरी दिने सोचमा पुगेकाले यसका लागि सरकार, निजी क्षेत्र र उद्यमीको सहकार्य आवश्यक रहेको मन्त्री सिन्हाको भनाइ छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले स्टार्टअप उद्यम कर्जामा उद्यमीको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो । स्टार्टअप उद्यम कर्जा लिएका उद्यमीमध्ये महिलाले सञ्चालन गरेको उद्यम व्यवस्थित रहेको उहाँको भनाइ छ । स्टार्टअप उद्यम कर्जालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा सातै प्रदेशमा सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १६५ उद्यमीले स्टार्टअप उद्यम कर्जा लिएका थिए । आव २०८१/८२ मा छ सय उद्यमीले स्टार्टअप उद्यम कर्जा लिएका थिए । चालु आवका लागि कर्जा वितरणका लागि स्क्रिनको काम भइरहेको उहाँले जानकारी दिनुुभयो ।