काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकारले पानी जहाजका लागि ८ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । अन्तरदेशीय जल यातायातको विकास गर्न भन्दै पानीजहाज कार्यालयलाई ८ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गर्ने घोषणा गरेका हुन् ।
‘सम्भाव्यताको आधारमा अन्तर्देशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धन गरिने छ,’अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत घोषणा गरे,‘ कोशी, गण्डकी लगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्मको जल यातायात सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ ।’
आगामी वर्षलाई छुट्ट्याइएको कुल बजेटमध्ये १ करोड ९३ लाख चालु र ६ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरेको छ ।
यस्तै चालु वर्ष २०८१/८२ मा १५ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ६ करोड रुपैयाँ हुलाकी राजमार्गमा रकमान्तर गरेको थियो । यस्तै ८ करोड ३० लाख रुपैयाँ बराबर बजेट खर्च हुने संशोधित अनुमान छ । यसमध्ये १ करोड ९२ चालु खर्च हुने संशोधित अनुमान छ ।
चालु खर्चअन्तर्गत कर्मचारी पारिश्रमिकमा ७७ लाख रुपैयाँ र बाँकी सवारी साधन मर्मत, कार्यक्रम खर्च, भ्रमण बिमा सवारी साधन मर्मत लगायतका खर्च रहेको छ । यस्तै ६ करोड ३८ लाख रुपैयाँ पुँजीगत खर्च हुने संशोधित अनुमान छ। यसमध्ये १० लाख बराबरको मेशिनरी औजार, फर्निचर फिक्चर्समा २ लाख, पुँजीगत परामर्शमा ४१ लाख र अन्य सार्वजनिक निर्माणमा ५ करोड ८५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा पानीजहाज कार्यालयमा १ करोड ९८ लाख रुपैयाँ बजेट खर्च भएको उल्लेख छ उक्त वर्ष १ करोड २७ लाख रुपैयाँ चालु र ७१ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ ।
यसमध्ये मेशिनरी तथा औजारमा १२ लाख रुपैयाँ, फर्निचर तथा फिक्चर्समा ३ लाख र पुँजीगत परामर्शमा ५६ लाख रुपैयाँ खर्च गरेको थियो ।