काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले रसुवाका बाढी प्रभावित तथा खाँचोमा रहेका परिवारका लागि राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ।
चेम्बरले पठाएको राहत सामग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना र साना बालबालिकाका जुत्तालगायतका अत्यावश्यक वस्तुहरू समावेश छन्। चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित संकलित राहत सामग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
श्रेष्ठका अनुसार स्थानीय संस्था तथा युवाहरूको सहकार्यमा राहत सामग्री रसुवा पठाइएको छ। उक्त सामग्री त्रिशूली हुँदै रसुवा पुर्याइने र त्यहाँका स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारहरूलाई वितरण गरिनेछ।
प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर यो सहयोग पठाइएको उनले जानकारी दिए।
