काठमाडौं। अमेरिकामा नेपाली युवाद्वारा स्थापित आईटी कम्पनी ‘भिल’ ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषमा हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
उक्त रकम बाढीपीडित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता र राहत कार्यमा खर्च गरिनेछ।
रकम हस्तान्तरणपछि भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले यस कठिन घडीमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए।
उनले आगामी दिनमा पनि आवश्यक परेका समुदायलाई सहयोग गर्ने उपायहरू खोजिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
भिल एआई प्रविधिमा आधारित एक विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म हो।
