काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई सम्बोधन गर्न नेपाल र चीनबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमापार विपद् न्यूनीकरणका लागि क्षेत्रीय तथा विश्वव्यापी प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन्।
भोटेकोशी विपद्लाई नेपाल र चीनबीचको क्षेत्रीय मुद्दा मात्र नभई औद्योगिक राष्ट्रहरूको कार्बन उत्सर्जनले निम्त्याएको विश्वव्यापी समस्याका रूपमा व्याख्या गर्दै खनालले भने, ‘भोटेकोशी विपद् नेपालका लागि राष्ट्रिय समस्या वा नेपाल र चीनबीचको क्षेत्रीय मुद्दा मात्र होइन, यो लामो समयदेखि औद्योगिक राष्ट्रबाट भएको कार्बन उत्सर्जनका कारण उत्पन्न भएको विश्वव्यापी समस्या हो।’ उनले नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर परिणाम भोगिरहेको बताए।
खनालले मौसम तथा बाढीसम्बन्धी सूचना आदानप्रदान, समन्वित विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँचमा जोड दिएका छन्। साथै, उनले नेपालको आर्थिक विकास र एकीकरणका लागि रेल, सडक र डिजिटल पूर्वाधारको महत्त्व औंल्याउँदै बेल्ट एण्ड रोड इनियिटिभ (बिआरआई) को ढाँचामा अघि बढ्नुपर्ने बताए। ‘कनेक्टिभिटी पूर्वाधार निर्माणमा प्राकृतिक विपद्को बढ्दो जोखिमलाई दृढतापूर्वक ध्यानमा राख्नुपर्छ,’ उनले भने।
विपद्को समयमा चीनले प्रदान गरेको मानवीय तथा प्राविधिक सहायताको प्रशंसा गर्दै खनालले चीनलाई नेपालको भरपर्दो मित्रका रूपमा चित्रण गरे। उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति चीनको समर्थनको प्रशंसा गर्दै नेपाल ‘एकचीन’ सिद्धान्तप्रति प्रतिबद्ध रहेको र आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।
