काठमाडौं। महाराजगञ्जस्थित निशान पोली क्लिनिकले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ ।
क्लिनिकका चिकित्सक, कर्मचारी र व्यवस्थापन पक्षबाट संकलित उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
क्लिनिकले तीज पर्वका अवसरमा आफ्ना कर्मचारीका लागि उपहारसहितको विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उक्त कार्यक्रम रद्द गरी सोही रकम बाढी प्रभावितको सहयोगमा प्रदान गरिएको हो ।
क्लिनिकका अनुसार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी र वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार दासलगायतको व्यक्तिगत सहयोगमा उक्त रकम संकलन गरिएको थियो । निशान पोली क्लिनिकका अध्यक्ष राजनहरि दाहालले विपत्को समयमा नागरिकलाई सहयोग गर्न पाउँदा संस्था गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विपत्का बेला नागरिकको सहयोगमा हातेमालो गरिएको उल्लेख गरे ।
रामेछापका दाहालले २०५१ सालमा निशान फर्माको स्थापना गरेका थिए । पछि २०६८ सालमा यसलाई विशेषज्ञ चिकित्सकको सेवा र अत्याधुनिक प्रयोगशालासहित निशान पोली क्लिनिकमा रूपान्तरण गरिएको हो । रासस
