काठमाडौं । हेटौँडा र काठमाडौँ जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग अन्तर्गत भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडक खण्डमा सवारी साधनका लागि अस्थायी रुट परमिट अनिवार्य गरिएको छ । यातायात व्यवस्था कार्यालय, हेटौँडाले जिल्ला यातायात व्यवस्था समितिको निर्णय अनुसार उक्त सडकमा चल्ने सवारी साधनले अनिवार्य रूपमा अस्थायी पटके रुट परमिट लिनुपर्ने जनाएको छ ।
भैंसे-भीमफेदी-फर्पिङ-काठमाडौँ सडक खण्डको भीमफेदी-कुलेखानी हेभीचौर क्षेत्रमा सवारी चाप अत्यधिक बढेपछि वैकल्पिक मार्गका रूपमा भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडक सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको निर्देशनमा सो सडक खण्डको सुधार गरी सञ्चालनमा ल्याइएको हो ।
यातायात व्यवस्था कार्यालय हेटौँडाका अधिकृत टेकनाथ काफ्लेका अनुसार भीमफेदीबाट कोगटे हुँदै सिस्नेरी बजार जोड्ने ३३ किलोमिटर लामो उक्त सडकलाई अस्थायी मार्गका रूपमा निर्धारण गरिएको छ । पृथ्वी राजमार्गमा पहिरोका कारण अवरोध भएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा सवारी चाप बढेको छ । हाल त्रिभुवन राजपथलाई हेटौँडाबाट काठमाडौँ जाने र कान्ति लोकपथलाई काठमाडौँबाट हेटौँडा फर्कने गरी एकतर्फी बनाइएको छ ।
भैंसे-भीमफेदी-फर्पिङ सडक अन्तर्गत भीमफेदी-कुलेखानी हेभीचौर सडक साँघुरो र धेरै मोड भएको कारण सवारी चाप बढ्दा दुर्घटनाको जोखिम उच्च रहेकाले वैकल्पिक मार्गको रूपमा यो सडकलाई प्रयोगमा ल्याइएको हो ।
