काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालित साप्ताहिक हाटबजार १८४औँ हप्तामा प्रवेश गरेको छ। विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार स्थानीय किसान र साना व्यवसायीका लागि आफ्नो उत्पादन बिक्री गर्ने मुख्य थलो बनेको छ। हरेक शुक्रबार सञ्चालन हुने यस बजारमा तरकारी, फलफूल, अन्नबाली, घिउ, मह र हस्तकलाका सामग्री बिक्रीका लागि राखिन्छन्।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार यसले किसान र उपभोक्तालाई सिधै जोड्ने काम गरेको छ। उनले भने, ‘स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ। बिचौलियाबिना बिक्री हुने भएकाले किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा सामान सस्तोमा पाउने अवस्था बनेको छ।’
स्थानीय किसान सुकमाया चेपाङले पहिले सामान बेच्न टाढा जानुपर्ने बाध्यता हटेको बताइन्। उनले भनिन्, ‘अहिले यतै बेच्न पाउँदा आम्दानी बढेको छ।’ हाटबजार व्यापारका साथै सामाजिक भेटघाटको थलोका रूपमा पनि विकास भएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले साढे तीन वर्षको अवधिमा हाटबजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको बताए। उनले भने, ‘स्थानीय उत्पादनले बजार नपाउँदा किसान निरास हुने अवस्था थियो। अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ।’ अध्यक्ष चुमानका अनुसार हाटबजारले ग्रामीण क्षेत्रमा नगद प्रवाह बढाउनुका साथै स्वरोजगार सिर्जनामा सहयोग पुर्याएको छ। बजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, दही, मोही र विभिन्न कृषि उपज बिक्रीका लागि राखिन्छन्।
