काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको जनाएको छ। राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक ग्यास आपूर्ति ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा माथि पुर्याउन कूटनीतिक प्रयास भइरहेको जानकारी दिए।
प्रवक्ता बस्नेतका अनुसार भारतबाट थप ग्यास बुलेट प्राप्त हुने सकारात्मक संकेत मिलेको छ। उनले कृष्णभीर सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउन पहल भइरहेको र बुलेटहरू भित्रिन थालेपछि बजारमा ग्यास आपूर्ति सहज भई पुरानै दरमा वितरण हुने बताए। हाल दैनिक ५० हजार सिलिन्डर भित्र्याउने लक्ष्य राखिएकोमा ३५ हजारदेखि ५० हजारको हाराहारीमा वितरण भइरहेको मन्त्रालयले जनाएको छ।
आपूर्ति व्यवस्थापनका लागि काठमाडौंका खाली सिलिन्डर ट्रकमा राखेर तराईका उद्योगमा पुर्याई तीनवटै सिफ्टमा रिफिल गरी त्रिभुवन राजपथ हुँदै पुनः काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
यसैबीच, मन्त्रालयले उपभोक्तालाई अनावश्यक रूपमा लाइन नबस्न आग्रह गरेको छ। प्रवक्ता बस्नेतले घरमा अतिरिक्त सिलिन्डर हुनेहरूले समेत थप स्टक राख्न खोज्दा समस्या जटिल बनेको बताए। उनले एउटा मात्र सिलिन्डर भएका उपभोक्ता, डेरामा बस्ने विद्यार्थी, सुत्केरी, गर्भवती तथा निम्न आय भएका वर्गलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
