काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनीज् प्रालि (कर्मा रेसिडेन्सिज) बीच आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा समझदारी भएको छ।
महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको हो।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्। यस सहकार्यमार्फत ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार बेसरेटमा शून्य दशमलव २५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यस कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।
यस व्यवस्थाबाट आवासीय परियोजनाका ग्राहकलाई घर वा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ। कर्जा सुविधा भने ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन, कानूनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुने बैंकले जनाएको छ। मुक्तिनाथ विकास बैंकले यसअघि नै आवास, अटो, कृषि तथा एसएमई लगायतका विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।
