काठमाडौं। चितवनको भरतपुरमा विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा मूर्ति व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेका छन्। लामो समयदेखि मूर्ति बनाउँदै आएका राजेश पण्डितको परिवारले यस वर्ष बाढीपहिरो र बजारको मन्दीका कारण व्यापारमा ठूलो घाटा व्यहोरेको छ।
रौतहटबाट आएर १८ वर्षदेखि भरतपुरमा बसोबास गर्दै आएका पण्डित परिवारले यस सिजनका लागि ६० देखि ७० वटा मूर्ति तयार पारेका थिए। कच्चा पदार्थ र सजावटका सामानमा २ लाख रुपैयाँभन्दा बढी लगानी भएको र मासिक २५ हजार रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता रहेको पण्डितकी श्रीमती निर्मला कुमारीले बताइन्। उनले भनिन्, पोहोर आन्दोलनले खायो, यसपालि बाढीले खायो। लगानी नै निस्किने छाँटकाँट छैन।
ग्यारेज र कारखानाका लागि बनाइएका मूर्तिहरूको मूल्य ३ हजारदेखि ५ हजार रुपैयाँसम्म तोकिएको छ। यद्यपि, पूजाको अघिल्लो दिनसम्म मुस्किलले २० देखि २५ वटा मूर्ति मात्र बिक्री भएका छन्। बाँकी मूर्तिहरू अर्को वर्षका लागि भण्डारण गर्नुपर्ने बाध्यताले गर्दा परिवार थप निराश बनेको छ।
पुर्ख्यौली कलालाई निरन्तरता दिँदै आएका राजेशका २८ वर्षीय छोरा नितेश कुमार पण्डितले व्यवसायमा भविष्य नदेखेको बताए। उनले भने, यस पेशामा अब टिक्नै सकिने अवस्था छैन। अहिले नेपालमा कामै छैन, युवाहरू सबै विदेशतिर गएका छन्। यस्तै हो र काम चलेन भने म पनि विदेश जानुको विकल्प छैन।
पण्डित परिवारले सरस्वती र दुर्गा पूजाका लागि पनि मूर्ति बनाउने योजना बनाएको छ, तर बजारको अवस्थालाई लिएर उनीहरूमा निकै चिन्ता छ।
