काठमाडौं। पाल्पाको तानसेन नगरपालिका-७ प्रभासमा युवाहरूले दुई करोड रुपैयाँको लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका छन्।
पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम बढिरहेको र बजारमा व्यापार-व्यवसाय सुस्ताइरहेको अवस्थामा रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले ‘सिएन पिउने पानी उद्योग’ स्थापना गरेका हुन्।
सञ्चालक विराज ढुङ्गानाका अनुसार स्थानीय बजारमा बढ्दो पिउने पानीको मागलाई सम्बोधन गर्न र आपूर्ति सहज बनाउन उद्योग सुरु गरिएको हो। उद्योगले सुरुवाती चरणमा एक हजार मिलिलिटर, पाँच सय मिलिलिटर र तीन सय मिलिलिटर क्षमताका बोतलमा प्रशोधित पानी बजारमा ल्याउने तयारी गरेको छ। यो उद्योग आफ्ना माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा खोलिएको हो।
तानसेन नगरपालिका-७ का वडाध्यक्ष प्रदीप खनालले प्रभास क्षेत्रमा नयाँ उद्योग स्थापना हुनुलाई सकारात्मक रूपमा लिएका छन्। उनले भने, “उद्योगले स्थानीयस्तरमै रोजगार सिर्जना हुनुका साथै शुद्ध पिउने पानीको सहज आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने छ।” खनालका अनुसार प्रभास क्षेत्र पछिल्लो समय शैक्षिक, स्वास्थ्य र व्यावसायिक केन्द्रका रूपमा विकास भइरहेको छ। यहाँ दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज र निजी विद्यालयहरू पनि सञ्चालनमा छन्।
पत्रकार भरत शर्माका अनुसार प्रभास क्षेत्रमा नयाँ उद्योग तथा व्यवसाय थपिँदै जानुले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन मद्दत गर्छ। तानसेनको मुख्य बजारमा व्यापारिक चहलपहल घटेको गुनासो भइरहेका बेला प्रभासजस्ता क्षेत्रमा हुने उत्पादनमूलक लगानीले स्थानीय अर्थतन्त्रलाई नयाँ आधार दिने अपेक्षा गरिएको छ। सिएन समूहले यसअघि यातायात क्षेत्रमा लगानी गर्नुका साथै सामाजिक तथा परोपकारी कार्यहरूमा पनि सक्रिय योगदान दिँदै आएको छ।
