काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको छ।
बजारको सुधारसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५.३२ अंकले बढेको छ। यसैगरी, फ्लोट इण्डेक्स १.८७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अङ्कले उकालो लागेका छन्।
कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार बढेर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ पुगेको छ। कुल ३४५ कम्पनीको २ करोड १२ लाख ७२ हजार कित्ता सेयर ६४ हजार ७२ पटकको कारोबारमा खरिदबिक्री भएको छ।
बजारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेका छन् भने २ वटा उपसमूह घटेका छन्। बैंकिङ उपसमूह १.५९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहमा पनि करिब १.५ प्रतिशतको वृद्धि देखिएको छ। यता, वित्त र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मूल्य करिब १० प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको मूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा कुमारी बैंकको ३२ करोड १३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
