काठमाडौं: विशाल चतुर्वेदी निर्देशित र शोभिनव सत्या अभिनित फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा ऐतिहासिक प्रदर्शन गर्दै सर्वाधिक मुनाफा कमाउने हिन्दी फिल्म बनेको छ। भारु १ करोड ८० लाखको सामान्य बजेटमा निर्माण भएको यस फिल्मले ६१ दिनको प्रदर्शनमा भारतमा ३२६ करोड ४८ लाख रुपैयाँ नेट र विश्वभर ४२५ करोड ५२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
प्रदर्शनको सुरुवाती दुई साता सुस्त व्यापार गरेको फिल्मले तेस्रो साताबाट बक्स अफिसमा चमत्कारिक गति समातेको थियो। फिल्मले आफ्नो लगानीको तुलनामा १७,९८२.२२ प्रतिशत मुनाफा आर्जन गर्दै बलिउड इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि सर्वाधिक मुनाफा कमाउने भक्तिप्रधान फिल्मको रेकर्ड सन् १९७५ को ‘जय सन्तोषी माँ’को नाममा थियो।
फिल्मका अन्य कीर्तिमानहरूमा पाँचौँ सातामा ९० करोड २५ लाख रुपैयाँको उच्च कमाइ र प्रदर्शनको ६१औँ दिनसम्म पनि दैनिक करोड रुपैयाँभन्दा बढीको व्यापार समावेश छ। भारतीय ट्रेड पोर्टल स्याकनिल्कका अनुसार ६१औँ दिनमा मात्र फिल्मले १ करोड रुपैयाँ कमाएको थियो।
सन् २०२६ मा प्रदर्शनमा आएका फिल्महरूमध्ये ‘हनुमान अंश’ तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ। यसले ‘मिर्जापुर: द फिल्म’, ‘भूत बंगला’ र ‘टक्सिक’ जस्ता ठूला स्टारका फिल्महरूलाई समेत पछाडि पारेको छ। सुरुवाती चरणमा फ्लप मानिएको यो फिल्मले लगातार ६ सातासम्म करोडमाथि व्यापार गर्दै ब्लकबस्टर बनेको हो।
