काठमाडौँ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

