नेपालगन्ज: बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरका महिलाहरूले यस वर्षको दसैंमा सात सय वटा खसी-बोका बिक्री गरेका छन्। नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत व्यावसायिक बाख्रापालनमा लागेका करिब चार सय महिला किसानले उक्त संख्यामा खसी-बोका बिक्री गरी दसैं खर्च जुटाएका हुन्।
सहकारीकी अध्यक्ष गंगा शाहका अनुसार व्यापारी र उपभोक्ताहरू सहकारीमै आएर प्रतिकिलो सात सय रुपियाँका दरले जिउँदो खसी-बोका खरिद गरेका थिए। सहकारीले नै बिक्रीको जिम्मा लिएपछि किसानहरू बजार खोज्ने र व्यापारीबाट ठगिने समस्याबाट मुक्त भएका छन्। फत्तेपुरकी किसान सावित्री चौधरीले सहकारीमार्फत खसी-बोका बिक्री गर्दा सहज भएको बताउनुभयो। यहाँका महिलाले दसैं र बकराइदका अवसरमा ठूलो संख्यामा खसी-बोका बिक्री गर्दै आएका छन्।
अध्यक्ष शाहले बाख्रापालन व्यवसायका कारण जिल्लामा खसी-बोका उत्पादन बढेको र किसानहरूले वर्षमा १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको जानकारी दिनुभयो। सहकारीकी व्यवस्थापक दिव्या गुरुङका अनुसार संस्थामा आवद्ध एक हजारभन्दा बढी महिलाले बाख्रापालनका साथै धान, मकै र गहुँ खेतीसमेत गर्दै आएका छन्। व्यावसायिक बाख्रापालनले महिलाहरूलाई घर खर्च चलाउन सहज बनाएको छ।
