Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

आफ्टर द आइडिया पुस्तक : विचारबाट बनेको व्यवसाय

एउटा व्यावसायिक विचारलाई सफल कम्पनीमा बदल्ने नेतृत्व, बजार पहिचान र संस्थागत विकासको व्यावहारिक यात्रा हो ‘आफ्टर द आइडिया’।

आफ्टर द आइडिया पुस्तक : विचारबाट बनेको व्यवसाय
A A+ A-

पुस्तक परिचय
– पुस्तक : आफ्टर द आइडिया : ह्वाट इट रियली टेक्स टु क्रिएट एन्ड स्केल अ स्टार्टअप
– लेखक : जुलिया अस्टिन
– प्रकाशन : सन् २०२५ जुन १०
– प्रकाशक : बेसिक भेन्चर
– विधा : उद्यमशीलता, व्यवसाय व्यवस्थापन र संस्थागत विकास
– मुख्य विषय : व्यावसायिक विचारको परीक्षण, ग्राहक पहिचान, सहसंस्थापक छनोट, जनशक्ति व्यवस्थापन, वित्तीय अनुशासन र कम्पनी विस्तार
– पृष्ठ : ३३६

एउटा राम्रो व्यावसायिक विचारले कम्पनी जन्माउन सक्छ। तर त्यसले कम्पनीलाई सफल बनाउँछ भन्ने कुनै निश्चितता हुँदैन।

बजारमा प्रवेश गरेपछि ग्राहकको अपेक्षा, प्रतिस्पर्धा, जनशक्ति व्यवस्थापन, पुँजीको आवश्यकता, सञ्चालन खर्च र संस्थागत जटिलताले व्यवसायको वास्तविक परीक्षा सुरु गर्छन्।

धेरै उद्यमी नयाँ विचार, उत्पादन वा सेवाको कल्पना गर्न सक्षम हुन्छन्। कतिपयले त्यसलाई नमुनाका रूपमा विकास गर्छन्, लगानी जुटाउँछन् र बजारमा प्रवेशसमेत गर्छन्।

तर व्यवसाय सञ्चालनका दैनिक चुनौती सामना गर्दै त्यसलाई विस्तार गर्न भने सबै सफल हुँदैनन्। यही अन्तरलाई आफ्नो पुस्तक ‘आफ्टर द आइडिया’ मा विश्लेषण गरेकी छन् अमेरिकी उद्यमशीलता विज्ञ तथा व्यवस्थापन प्रशिक्षक जुलिया अस्टिनले।

पुस्तकको उपशीर्षक ‘ह्वाट इट रियली टेक्स टु क्रिएट एन्ड स्केल अ स्टार्टअप’ ले नै यसको मूल उद्देश्य स्पष्ट पार्छ। अर्थात्, एउटा नयाँ व्यावसायिक संस्था स्थापना गर्न र त्यसलाई विस्तार गर्न वास्तवमा के–के आवश्यक पर्छ?

लेखकले यस प्रश्नको उत्तर केवल उत्पादन निर्माण वा पुँजी सङ्कलनमा खोजेकी छैनन्। उनले कम्पनी सञ्चालनका मानवीय, व्यवस्थापकीय, वित्तीय र संस्थागत पक्षलाई एकीकृत रूपमा प्रस्तुत गरेकी छन्।

यो पुस्तक नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्तिका लागि मात्र होइन, पहिले नै व्यवसाय सञ्चालन गरिरहेका उद्यमी, प्रारम्भिक चरणका कर्मचारी, लगानीकर्ता र व्यवस्थापकका लागि पनि उपयोगी मार्गदर्शक हो।

यसको मूल मान्यता स्पष्ट छ-व्यवसायको सफलता विचारको मौलिकताले मात्र निर्धारण गर्दैन, त्यसलाई कार्यान्वयन गर्ने संस्थागत क्षमताले निर्धारण गर्छ।

विचारभन्दा कठिन कार्यान्वयन

व्यवसाय सुरु गर्ने क्रममा उद्यमीले आफ्नो उत्पादन वा सेवाको सम्भावनालाई केन्द्रमा राख्छन्। उनीहरूलाई लाग्छ, बजारमा नयाँ समाधान प्रस्तुत गर्न सके ग्राहक आकर्षित हुनेछन् र व्यवसाय विस्तार हुनेछ।

तर कुनै उत्पादन राम्रो हुनु र त्यसको व्यावसायिक माग हुनु एउटै कुरा होइन।

ग्राहकले वास्तवमा कुन समस्या समाधान खोजिरहेका छन्? उनीहरू त्यसका लागि कति रकम खर्च गर्न तयार छन्?

प्रस्तावित उत्पादनले अहिले उपलब्ध विकल्पभन्दा के फरक सुविधा दिन्छ? बजारमा प्रवेश गरेपछि ग्राहकलाई कसरी निरन्तर सेवा उपलब्ध गराउने?

यी प्रश्नको उत्तर नखोजी व्यवसाय सुरु गर्दा राम्रो विचार पनि आर्थिक बोझ बन्न सक्छ।

अस्टिनले पुस्तकको सुरुवातमै व्यवसायको सफलतालाई संस्थापकको व्यक्तिगत महत्वाकाङ्क्षासँग मात्र जोडेर हेर्न नहुने तर्क प्रस्तुत गरेकी छन्।

उद्यमीले आफ्नो सफलताको अर्थ के हो भन्ने विषय पहिल्यै स्पष्ट गर्नुपर्छ।

कसैका लागि ठूलो कम्पनी निर्माण गर्नु सफलता हुन सक्छ भने कसैका लागि स्थिर आम्दानी, आर्थिक स्वतन्त्रता, सामाजिक प्रभाव वा सीमित आकारको दिगो व्यवसाय नै सफलता हुन सक्छ।

सफलताको परिभाषा स्पष्ट नभएमा संस्थापक, सहसंस्थापक र लगानीकर्ताबीच लक्ष्यसम्बन्धी मतभेद उत्पन्न हुन सक्छ।

एउटा साझेदार छिटो बजार विस्तार गर्न चाहन्छ भने अर्कोले जोखिम कम गर्दै व्यवसायलाई स्थिर बनाउन खोज्न सक्छ।

एउटाले कम्पनी बिक्री गरेर बाहिरिने योजना बनाइरहेको हुन सक्छ भने अर्कोले लामो समयसम्म त्यसलाई सञ्चालन गर्न चाहेको हुन सक्छ।

यस्ता फरक अपेक्षा सुरुवाती चरणमै स्पष्ट नगर्दा पछि गम्भीर विवाद निम्तिन सक्छन्।

त्यसैले लेखकले व्यवसायको दिशा निर्धारण गर्नुअघि संस्थापकहरूले आफ्नो उद्देश्य, प्राथमिकता र सफलताको मापदण्डमा सहमति बनाउनुपर्नेमा जोड दिएकी छन्।

यस दृष्टिकोणले उद्यमशीलतालाई केवल नाफा कमाउने प्रक्रियाका रूपमा नभई उद्देश्य, मूल्य र दीर्घकालीन प्रतिबद्धतासँग जोडिएको संस्थागत यात्राका रूपमा व्याख्या गर्छ।

ग्राहकको समस्या बुझ्ने कला

पुस्तकको पहिलो प्रमुख खण्ड उत्पादन विकास र ग्राहकको आवश्यकता पहिचानमा केन्द्रित छ। लेखकका अनुसार व्यवसायको सुरुवात उत्पादन बनाउनबाट होइन, ग्राहकको समस्या बुझ्नबाट हुनुपर्छ।

नयाँ व्यवसायका संस्थापकले आफ्ना विचारलाई उत्कृष्ट ठान्नु स्वाभाविक हो। तर उनीहरूको व्यक्तिगत विश्वास बजारको वास्तविक मागको प्रमाण होइन। ग्राहकले के चाहन्छन् भन्ने कुरा अनुमान गरेर मात्र थाहा हुँदैन।

त्यसका लागि उनीहरूको व्यवहार, समस्या, खर्च गर्ने बानी र उपलब्ध विकल्पबारे व्यवस्थित अध्ययन गर्नुपर्छ।

अस्टिनले यस प्रक्रियालाई उत्पादनको प्रारम्भिक खोज तथा परीक्षणका रूपमा प्रस्तुत गरेकी छन्। यसमा सम्भावित ग्राहकको पहिचान, उनीहरूले सामना गरिरहेको समस्या, त्यसको गम्भीरता र प्रस्तावित समाधानप्रतिको वास्तविक रुचि बुझ्ने काम पर्छ।

ग्राहकसँग कुराकानी गर्नु मात्र पर्याप्त हुँदैन। उनीहरूको दैनिक व्यवहार अवलोकन गर्नु, समस्या उत्पन्न हुने ठाउँमा पुग्नु र उनीहरूले अहिले अपनाइरहेको समाधान बुझ्नु पनि आवश्यक हुन्छ।

ग्राहकले आफूलाई के चाहिएको छ भनेर बताउन नसक्ने अवस्था पनि हुन सक्छ। त्यसैले उनीहरूले के भन्छन् भन्नेभन्दा उनीहरू वास्तवमा के गर्छन् भन्ने विषय महत्त्वपूर्ण हुन्छ।

यसका लागि लेखकले व्यावसायिक अनुमानलाई परीक्षणयोग्य धारणामा बदल्न सुझाव दिएकी छन्।

उदाहरणका लागि, कुनै उद्यमीले साना व्यवसायका लागि नयाँ लेखा प्रणाली विकास गर्न खोजेको छ भने उसले पहिले नै सबै व्यवसायलाई त्यस्तो सेवा आवश्यक छ भनेर निष्कर्ष निकाल्नु हुँदैन।

कुन आकारका व्यवसायलाई समस्या छ? उनीहरूले अहिले कसरी हिसाब राखिरहेका छन्? विद्यमान प्रणालीमा के कठिनाइ छ? नयाँ सेवा प्रयोग गर्न उनीहरू कति खर्च गर्न तयार छन्?

यस्ता प्रश्नको उत्तर खोजेर मात्र उत्पादनको स्वरूप निर्धारण गर्नुपर्छ।

यस प्रक्रियाले अनावश्यक खर्च र समयको क्षति कम गर्न मद्दत गर्छ। बजारले नचाहेको उत्पादन विकास गर्न ठूलो रकम खर्च गर्नुको सट्टा प्रारम्भिक चरणमै सम्भावित ग्राहकको प्रतिक्रिया लिन सकिन्छ।

लेखकको दृष्टिमा उत्पादन विकास र बजार अनुसन्धान अलग-अलग गतिविधि होइनन्।

ग्राहकबाट प्राप्त प्रतिक्रियाका आधारमा उत्पादनमा सुधार गर्दै जानुपर्छ। बजारमा प्रवेश गरेपछि पनि ग्राहकको आवश्यकता परिवर्तन हुन सक्छ। त्यसैले उत्पादन विकास निरन्तर चलिरहने प्रक्रिया हो।

यो विचारले एउटा महत्त्वपूर्ण व्यावसायिक पाठ दिन्छ-उद्यमीले आफूलाई मन परेको उत्पादन बेच्ने प्रयास गर्नुभन्दा ग्राहकले समाधान खोजिरहेको समस्या पहिचान गर्नुपर्छ।

सहसंस्थापक छनोट र साझेदारी

नयाँ कम्पनी निर्माणको अर्को चुनौती सही सहसंस्थापक छनोट गर्नु हो। धेरै व्यवसायिक साझेदारी मित्रता, पारिवारिक सम्बन्ध वा प्रारम्भिक उत्साहका आधारमा सुरु हुन्छन्।

तर व्यवसाय अघि बढ्दै जाँदा जिम्मेवारी, स्वामित्व, पुँजी, निर्णय प्रक्रिया र भविष्यको योजनाबारे मतभेद उत्पन्न हुन सक्छन्।

अस्टिनले सहसंस्थापकबीचको सम्बन्धलाई दीर्घकालीन साझेदारीका रूपमा हेरेकी छन्। उनीहरूबीच व्यावसायिक क्षमता मात्र होइन, मूल्य, कार्यशैली, जोखिमप्रतिको दृष्टिकोण र व्यक्तिगत अपेक्षासमेत मिल्न आवश्यक हुन्छ।

कुनै संस्थापक उत्पादन विकासमा दक्ष हुन सक्छ भने अर्को बजार विस्तार र बिक्रीमा सक्षम हुन सक्छ।

यस्तो पूरक क्षमता व्यवसायका लागि उपयोगी हुन्छ। तर जिम्मेवारीको सीमा स्पष्ट नभएमा एउटै विषयमा दोहोरो निर्णय वा कुनै महत्त्वपूर्ण काममा कसैले जिम्मेवारी नलिने अवस्था आउन सक्छ।

साझेदारी सुरु गर्नुअघि स्वामित्वको हिस्सा, लगानीको दायित्व, कामको जिम्मेवारी, निर्णय प्रक्रियामा सहभागिता र कुनै साझेदार बाहिरिन चाहेमा अपनाइने व्यवस्था स्पष्ट गर्नुपर्छ।

व्यवसाय सफल भएमा मात्र होइन, असफल भएमा के गर्ने भन्ने विषयमा पनि सहमति आवश्यक हुन्छ।

विशेषगरी आर्थिक विषयमा फरक दृष्टिकोणले साझेदारीलाई कमजोर बनाउन सक्छ।

एउटा संस्थापकले व्यवसायबाट तत्काल आम्दानी निकाल्न चाहन सक्छ भने अर्कोले सबै नाफा पुनः लगानी गर्नुपर्ने ठान्न सक्छ। यस्ता विषय सुरुवातमै छलफल नगर्दा व्यवसायको विस्तारसँगै विवाद बढ्न सक्छ।

पुस्तकले सहसंस्थापक छनोटलाई सामान्य व्यावसायिक निर्णयभन्दा बढी महत्त्व दिएको छ।

सही साझेदारले संस्थाको क्षमता विस्तार गर्न सक्छ भने असंगत साझेदारीले राम्रो विचार र पर्याप्त पुँजी भएको कम्पनीलाई समेत कमजोर बनाउन सक्छ।

यसले उद्यमशीलतामा व्यक्तिगत विश्वास र व्यावसायिक सम्झौता दुवैको महत्त्व देखाउँछ।

जनशक्ति, नेतृत्व र संस्थागत संस्कृति

व्यवसाय विस्तार हुँदै जाँदा संस्थापकले सबै काम आफैँ गर्न सक्दैनन्। प्रारम्भिक अवस्थामा सीमित व्यक्तिले उत्पादन विकास, बिक्री, ग्राहक सेवा, वित्तीय व्यवस्थापन र अन्य काम सम्हाल्न सक्छन्।

तर ग्राहक र कारोबार बढ्दै जाँदा जिम्मेवारी विभाजन गर्नुपर्ने हुन्छ।

यही चरणमा कम्पनीले सही जनशक्ति छनोट गर्न नसकेमा विस्तारको गति नै कमजोर हुन सक्छ। पुस्तकको दोस्रो खण्डले मानिस, नेतृत्व र संस्थागत संस्कृतिको यही महत्त्वलाई विश्लेषण गरेको छ।

अस्टिनका अनुसार कर्मचारी नियुक्ति गर्दा व्यक्तिको शैक्षिक योग्यता वा विगतको अनुभव मात्र हेर्नु पर्याप्त हुँदैन। कम्पनीलाई वास्तवमा कस्तो कामका लागि जनशक्ति आवश्यक छ भन्ने स्पष्ट हुनुपर्छ।

जिम्मेवारी, अपेक्षित परिणाम र कार्यक्षेत्र निर्धारण नगरी कर्मचारी नियुक्त गर्दा संस्थाभित्र अन्योल उत्पन्न हुन्छ।

सानो कम्पनीमा गलत नियुक्तिको असर अझ ठूलो हुन सक्छ। सीमित जनशक्तिले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले कुनै एक व्यक्तिको कमजोर कार्यसम्पादनले समग्र सञ्चालन प्रभावित गर्न सक्छ।

त्यसैले कुन कामका लागि कस्तो क्षमता आवश्यक छ भन्ने पहिचान गरी नियुक्ति गर्नुपर्छ।

लेखकले संस्थागत संस्कृतिलाई पनि सुरुवाती चरणदेखि नै महत्त्व दिनुपर्ने बताएकी छन्। कम्पनीको संस्कृति भनेको कार्यालयमा लेखिएको उद्देश्य वा भित्तामा टाँसिएको नारा मात्र होइन।

कर्मचारीले एकअर्कासँग गर्ने व्यवहार, निर्णय लिने तरिका, जिम्मेवारी बहन गर्ने शैली र समस्याको समाधान गर्ने अभ्यासबाट संस्कृति निर्माण हुन्छ।

कम्पनीमा पारदर्शिता, विश्वास, उत्तरदायित्व र सम्मानको वातावरण विकास गर्न नेतृत्वको भूमिका निर्णायक हुन्छ। संस्थापकले कर्मचारीबाट अपेक्षा गर्ने व्यवहार आफैँले पनि प्रदर्शन गर्नुपर्छ।

कम्पनी ठूलो हुँदै जाँदा प्रारम्भिक कर्मचारी र नयाँ नेतृत्वबीच भूमिका तथा अधिकारसम्बन्धी समस्या देखिन सक्छ। संस्थापकले सबै निर्णय आफैँ गर्ने पुरानो अभ्यास छोड्न नसकेमा सक्षम व्यवस्थापकले काम गर्न कठिन हुन्छ।

अर्कोतर्फ, नयाँ व्यवस्थापक नियुक्त गरेपछि संस्थापकले उनीहरूको अधिकारमा हस्तक्षेप गरिरहेमा जिम्मेवारीको स्पष्टता हराउँछ।

अस्टिनले संस्थापकको भूमिका समयसँगै परिवर्तन हुनुपर्ने तर्क गरेकी छन्। प्रारम्भिक चरणमा आफैँले काम गर्ने व्यक्ति विस्तारको चरणमा अरूलाई जिम्मेवारी दिन, नेतृत्व विकास गर्न र संस्थागत प्रणाली निर्माण गर्न सक्षम हुनुपर्छ।

यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ-कम्पनी बढ्दै जाँदा संस्थापक आफैँ पनि बदलिन तयार छन् कि छैनन्?

वित्तीय अनुशासन र सञ्चालनको आधार

नयाँ व्यवसायमा उत्पादन र जनशक्तिसँगै वित्तीय तथा कानुनी व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

कतिपय उद्यमीले व्यवसाय सुरु गर्दा बजार र उत्पादनमा ध्यान दिन्छन्, तर कर, सम्झौता, नगद प्रवाह, लागत नियन्त्रण र कानुनी दायित्वलाई पछि सार्छन्।

पुस्तकको तेस्रो खण्डले कम्पनी सञ्चालनका यिनै आधारभूत पक्षलाई समेटेको छ। कानुनी संरचना, वित्तीय व्यवस्थापन, लगानी सङ्कलन, बजार प्रवेश रणनीति र सञ्चार प्रणालीबारे लेखकले व्यावहारिक दृष्टिकोण प्रस्तुत गरेकी छन्।

व्यवसायमा नाफा देखिनु र नगद उपलब्ध हुनु फरक विषय हुन्।

बिक्री बढे पनि ग्राहकबाट भुक्तानी समयमा प्राप्त नहुन सक्छ। उत्पादनमा लगानी, कर्मचारीको तलब, कार्यालय खर्च, आपूर्तिकर्ताको भुक्तानी र अन्य दायित्व निरन्तर रहन्छन्।

त्यसैले कम्पनीले आफ्नो नगद प्रवाहको अवस्था बुझ्नुपर्छ।

व्यवसाय विस्तार गर्ने क्रममा खर्च र आम्दानीबीचको सन्तुलन कायम गर्न नसक्दा कम्पनी आर्थिक दबाबमा पर्न सक्छ। बिक्री बढिरहेको अवस्थामा पनि नगद अभावका कारण सञ्चालन प्रभावित हुन सक्छ।

यसैले वित्तीय योजना र नियमित हिसाब व्यवस्थापनलाई सुरुवातदेखि नै संस्थागत बनाउनुपर्छ।

लगानी सङ्कलनलाई पनि लेखकले सफलताको अन्तिम प्रमाणका रूपमा प्रस्तुत गरेकी छैनन्।

बाह्य लगानी प्राप्त गर्नु व्यवसायका लागि अवसर हुन सक्छ, तर त्यससँगै नयाँ दायित्व र अपेक्षा पनि आउँछन्। लगानीकर्ताको सहभागिताले कम्पनीको निर्णय प्रक्रिया, स्वामित्व संरचना र भविष्यको रणनीतिमा प्रभाव पार्न सक्छ।

उद्यमीले कति पुँजी आवश्यक छ, त्यो किन चाहिएको हो र त्यसले व्यवसायलाई कुन चरणसम्म पुर्‍याउँछ भन्ने स्पष्ट हुनुपर्छ।

केवल ठूलो रकम जुटाउनुलाई उपलब्धि ठान्दा कम्पनीको वास्तविक व्यावसायिक उद्देश्य ओझेलमा पर्न सक्छ।

बजार प्रवेश रणनीति पनि उत्पादन तयार भएपछि मात्र सोच्ने विषय होइन।

ग्राहकसम्म कसरी पुग्ने, बिक्री कसरी गर्ने, सेवा कसरी उपलब्ध गराउने र ग्राहकको प्रतिक्रिया कसरी सङ्कलन गर्ने भन्ने विषय उत्पादन विकाससँगै अघि बढ्नुपर्छ।

लेखकले उत्पादन, बिक्री र ग्राहक सेवालाई एकअर्काबाट अलग राख्न नहुने बताएकी छन्।

उत्पादन विकास गर्ने समूहले ग्राहकको समस्या बुझ्नुपर्छ। बिक्री समूहले उत्पादनको वास्तविक क्षमता र सीमाबारे जानकारी राख्नुपर्छ। ग्राहक सेवा समूहले प्राप्त गर्ने प्रतिक्रियालाई उत्पादन सुधारमा जोड्नुपर्छ।

यी पक्षबीच समन्वय नहुँदा राम्रो उत्पादन भए पनि ग्राहक असन्तुष्ट हुन सक्छन्। बिक्री बढाउन गरिएको प्रतिबद्धता उत्पादन वा सेवा क्षमताले पूरा गर्न नसकेमा कम्पनीको प्रतिष्ठा कमजोर हुन सक्छ।

विस्तारसँगै बदलिनुपर्ने कम्पनी

व्यवसायको प्रारम्भिक सफलता र ठूलो संस्थाका रूपमा सञ्चालन हुने क्षमताबीच ठूलो अन्तर हुन्छ। सानो टोलीले अनौपचारिक छलफलबाट निर्णय लिन सक्छ।

तर कर्मचारी, ग्राहक, कारोबार र बजार विस्तार हुँदै जाँदा त्यही अभ्यास प्रभावकारी नहुन सक्छ।

पुस्तकको चौथो खण्ड कम्पनी विस्तारको यही जटिलतामा केन्द्रित छ। लेखकले व्यवसाय बढ्दै जाँदा संस्थापकको जिम्मेवारी, कर्मचारीको भूमिका, नेतृत्व संरचना र सञ्चालन प्रणालीमा परिवर्तन आवश्यक हुने बताएकी छन्।

प्रारम्भिक चरणमा संस्थापकले धेरै जिम्मेवारी आफैँ सम्हाल्नु सामान्य हो। तर कम्पनी ठूलो हुँदै जाँदा विशेषज्ञ जनशक्ति, व्यवस्थापकीय तह र स्पष्ट कार्यविभाजन आवश्यक हुन्छ।

सबै निर्णय संस्थापककै टेबलमा पुग्ने अवस्था रहिरहेमा कम्पनीको गति सुस्त हुन सक्छ।

विस्तारको अर्थ कर्मचारीको सङ्ख्या बढाउनु वा नयाँ कार्यालय खोल्नु मात्र होइन। संस्थाले बढ्दो कारोबारलाई गुणस्तरीय रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नु हो।

उत्पादनको सङ्ख्या बढ्दा गुणस्तर कायम राख्नुपर्छ। नयाँ बजारमा प्रवेश गर्दा ग्राहकको आवश्यकता बुझ्नुपर्छ। नयाँ नेतृत्व तह थपिँदा सञ्चार र निर्णय प्रक्रियालाई व्यवस्थित गर्नुपर्छ।

यस क्रममा संस्थापकले आफूले पहिले सम्हालेका केही जिम्मेवारी अरूलाई सुम्पनुपर्ने हुन्छ।

त्यसले कहिलेकाहीँ नियन्त्रण गुमेको अनुभूति गराउन सक्छ। तर संस्थापकले सबै काम आफैँ गर्न खोजेमा कम्पनीको विस्तार उनीहरूको व्यक्तिगत क्षमतामा निर्भर रहन्छ।

अस्टिनले नेतृत्वको विकाससँगै संस्थापकको व्यक्तिगत स्वास्थ्य र मानसिक सन्तुलनलाई पनि महत्त्व दिएकी छन्। व्यवसाय सञ्चालनको दबाब, लगानीकर्ताको अपेक्षा, कर्मचारीको जिम्मेवारी र अनिश्चितताले उद्यमीलाई निरन्तर तनावमा राख्न सक्छ।

कम्पनीको सफलताका लागि संस्थापकको व्यक्तिगत ऊर्जा र निर्णय क्षमता आवश्यक हुन्छ। त्यसैले कामको जिम्मेवारी बाँड्ने, सहयोगी नेतृत्व तयार गर्ने र व्यक्तिगत जीवनलाई पनि व्यवस्थित राख्ने अभ्यास आवश्यक छ।

कम्पनीको भविष्य संस्थापकको निरन्तर उपस्थितिमा मात्र निर्भर रहनु हुँदैन। नेतृत्व हस्तान्तरण, उत्तराधिकारी विकास र संस्थागत निरन्तरताको तयारी पनि विस्तारकै हिस्सा हो।

नेपाली उद्यमीले के सिक्ने?

‘आफ्टर द आइडिया’ को सान्दर्भिकता प्रविधिमा आधारित नयाँ व्यवसायमा मात्र सीमित छैन।

नेपालका कृषि उद्यम, उत्पादनमूलक उद्योग, वित्तीय सेवा, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात र डिजिटल व्यवसाय सञ्चालन गर्ने उद्यमीले पनि यस पुस्तकबाट व्यावहारिक पाठ लिन सक्छन्।

पहिलो पाठ हो, बजारको वास्तविक समस्या पहिचान गर्नु। नेपालमा नयाँ व्यवसाय सुरु गर्दा धेरैजसो अवस्थामा उद्यमीको व्यक्तिगत रुचि वा अरूको सफल व्यवसायको नक्कललाई आधार बनाइन्छ।

तर कुनै व्यवसाय एउटा ठाउँमा सफल भयो भन्दैमा अर्को बजारमा पनि सफल हुन्छ भन्ने निश्चित हुँदैन।

ग्राहकको आवश्यकता, क्रयशक्ति, भौगोलिक अवस्था, प्रतिस्पर्धा र सेवा उपलब्धताको अध्ययन आवश्यक हुन्छ।

उदाहरणका लागि, कृषि क्षेत्रमा नयाँ प्रविधि वा उपकरण ल्याउनुअघि किसानको वास्तविक आवश्यकता, लागत वहन गर्ने क्षमता र त्यसबाट प्राप्त हुने लाभ बुझ्नुपर्छ।

दोस्रो पाठ हो, व्यवसायको उद्देश्य र साझेदारी स्पष्ट बनाउनु। नेपालमा धेरै व्यवसाय पारिवारिक वा साथीभाइबीचको साझेदारीमा सुरु हुन्छन्।

तर लगानी, जिम्मेवारी र स्वामित्वको स्पष्ट व्यवस्था नहुँदा पछि विवाद उत्पन्न हुने गरेको छ। सुरुवातमै लिखित सहमति, कार्यविभाजन र निर्णय प्रक्रियाको व्यवस्था गर्नु आवश्यक हुन्छ।

तेस्रो पाठ हो, जनशक्ति व्यवस्थापनलाई खर्चका रूपमा मात्र नहेर्नु। व्यवसायको आकारअनुसार दक्ष कर्मचारी नियुक्त गर्ने, उनीहरूको जिम्मेवारी स्पष्ट गर्ने र कामको मूल्याङ्कन गर्ने प्रणाली आवश्यक हुन्छ।

कर्मचारीलाई केवल आदेश पालना गर्ने व्यक्तिका रूपमा होइन, संस्थाको लक्ष्य पूरा गर्ने महत्त्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्छ।

चौथो पाठ हो, वित्तीय अनुशासन कायम गर्नु। नेपालका साना तथा मझौला व्यवसायमा व्यक्तिगत र व्यावसायिक खर्च छुट्याउन नसक्ने समस्या देखिन्छ।

कारोबारको नियमित अभिलेख, नगद प्रवाहको अनुमान, लागत नियन्त्रण र करसम्बन्धी दायित्वलाई व्यवस्थित गर्नुपर्छ। बिक्री बढेको अवस्थालाई मात्र व्यावसायिक स्वास्थ्यको प्रमाण मान्नु हुँदैन।

पाँचौँ पाठ हो, लगानी र विस्तारलाई उद्देश्यसँग जोड्नु। बाह्य पुँजी प्राप्त गर्नु राम्रो अवसर भए पनि त्यसले कम्पनीलाई कुन दिशामा लैजान्छ भन्ने स्पष्ट हुनुपर्छ।

ऋण वा सेयर लगानीबाट प्राप्त रकम उत्पादन क्षमता, बजार विस्तार, प्रविधि र जनशक्ति विकासमा कसरी प्रयोग हुन्छ भन्ने योजना आवश्यक हुन्छ।

छैटौँ पाठ हो, संस्थापकले नेतृत्व हस्तान्तरण गर्न सिक्नु।

नेपालका कतिपय व्यवसाय संस्थापककै व्यक्तिगत सम्बन्ध र निर्णयमा निर्भर छन्। संस्थापक अनुपस्थित हुँदा पनि कम्पनी सञ्चालन हुन सक्ने व्यवस्थापन संरचना निर्माण गर्नु दीर्घकालीन सफलताको आधार हो।

यी पाठले नेपालमा व्यवसाय सुरु गर्ने व्यक्तिलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छन्—व्यवसायको विचार जति आकर्षक भए पनि त्यसलाई टिकाउने प्रणाली निर्माण गर्न सकिएन भने दीर्घकालीन सफलता सम्भव हुँदैन।

पुस्तकको बलियो पक्ष र सीमा

यस पुस्तकको सबैभन्दा बलियो पक्ष यसको व्यावहारिकता हो। उद्यमशीलताबारे लेखिएका धेरै पुस्तकले सफलताको कथा, नेतृत्वको प्रेरणा वा बजार रणनीतिलाई प्राथमिकता दिन्छन्। तर अस्टिनले कम्पनी सञ्चालनका दैनिक र जटिल पक्षलाई व्यवस्थित रूपमा प्रस्तुत गरेकी छन्।

पुस्तकलाई उत्पादन, मानिस, सञ्चालन र विस्तार गरी चार मुख्य खण्डमा विभाजन गरिएको छ।

यसले व्यवसाय निर्माणका विभिन्न चरणलाई एकीकृत रूपमा बुझ्न सहयोग गर्छ। ग्राहकको समस्या पहिचानदेखि सहसंस्थापक छनोट, कर्मचारी नियुक्ति, कानुनी तथा वित्तीय व्यवस्थापन र संस्थागत विस्तारसम्मका विषय समेटिएका छन्।

पुस्तकको अर्को बलियो पक्ष लेखकको व्यावसायिक अनुभव हो। जुलिया अस्टिनले अकामाई टेक्नोलोजिज, भीएमवेयर र डिजिटलओसनजस्ता प्रविधि कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।

उनले हार्वर्ड बिजनेस स्कुलमा उद्यमशीलता र नयाँ व्यवसाय सञ्चालनसम्बन्धी अध्यापनसमेत गरेकी छन्। संस्थापकहरूलाई परामर्श दिने, लगानी गर्ने र विभिन्न कम्पनीका सञ्चालक समितिमा काम गर्ने अनुभवले पुस्तकलाई व्यावहारिक आधार दिएको छ।

लेखकले आफ्नो अनुभवलाई केवल व्यक्तिगत सफलताको विवरणका रूपमा प्रस्तुत गरेकी छैनन्।

कम्पनी सञ्चालनमा देखिने समस्या, संस्थापकबीचको मतभेद, गलत नियुक्ति, संस्थागत संस्कृति र विस्तारको दबाबलाई उदाहरणसहित व्याख्या गरेकी छन्।

तर पुस्तकका केही सीमा पनि छन्। यसको मुख्य सन्दर्भ अमेरिकी प्रविधि उद्यम र लगानीमा आधारित व्यवसाय हुन्। त्यहाँको लगानी संरचना, कानुनी वातावरण, बजारको आकार र उद्यमशीलता पारिस्थितिकी नेपालभन्दा फरक छ।

त्यसैले पुस्तकमा प्रस्तुत सबै उपायलाई नेपाली व्यवसायमा जस्ताको तस्तै लागू गर्न सकिँदैन।

विशेषगरी साना पारिवारिक व्यवसाय, ग्रामीण उद्यम र सीमित पुँजीमा सञ्चालन हुने उद्योगका चुनौती फरक हुन सक्छन्। उनीहरूका लागि संस्थागत संरचना, जनशक्ति नियुक्ति र विस्तारसम्बन्धी केही सुझाव तत्काल लागू गर्न कठिन हुन सक्छन्।

त्यस्तै, पुस्तकले व्यवसाय सञ्चालनका विभिन्न पक्ष समेटे पनि हरेक उद्योगको विशिष्ट प्राविधिक, बजार र नियामकीय चुनौतीको विस्तृत समाधान दिन सक्दैन।

यसलाई सबै समस्याको एउटै समाधान दिने सूत्रभन्दा उद्यमीलाई व्यवस्थित ढङ्गले सोच्न र निर्णय लिन सहयोग गर्ने मार्गदर्शकका रूपमा लिनु उपयुक्त हुन्छ।

तर यी सीमाले पुस्तकको मूल उपयोगितालाई कमजोर बनाउँदैनन्। यसको मुख्य सन्देश विश्वव्यापी रूपमा लागू हुन्छ—कम्पनी निर्माण भनेको उत्पादन बेच्ने काम मात्र होइन, त्यसलाई टिकाउने संस्था निर्माण गर्ने प्रक्रिया हो।

विचारबाट दिगो संस्थासम्म

‘आफ्टर द आइडिया’ ले उद्यमशीलताको चर्चित तर अपूर्ण बुझाइलाई चुनौती दिन्छ। नयाँ विचार, आकर्षक उत्पादन र लगानी जुटाउने क्षमताले व्यवसायको सुरुवात गर्न सहयोग गर्छन्।

तर दीर्घकालीन सफलता सुनिश्चित गर्न ग्राहकको विश्वास, सक्षम जनशक्ति, वित्तीय अनुशासन, स्पष्ट जिम्मेवारी र प्रभावकारी सञ्चालन प्रणाली आवश्यक हुन्छ।

कुनै व्यवसायको सुरुवातमा संस्थापकको उत्साह र व्यक्तिगत क्षमता निर्णायक हुन सक्छ। तर कम्पनी ठूलो हुँदै जाँदा व्यक्तिगत प्रयासलाई संस्थागत क्षमतामा बदल्नुपर्छ।

ग्राहकको आवश्यकता बुझ्ने, बजारको परिवर्तनअनुसार उत्पादन सुधार गर्ने, सही मानिस नियुक्त गर्ने र निर्णय प्रक्रियालाई व्यवस्थित बनाउने अभ्यास निरन्तर आवश्यक हुन्छ।

पुस्तकले उद्यमीलाई आफ्नो विचारप्रति मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियाप्रति पनि गम्भीर हुन आग्रह गर्छ। राम्रो विचारलाई बजारले स्वीकार गर्ने उत्पादनमा बदल्नु एउटा चुनौती हो।

त्यसलाई आर्थिक रूपमा टिकाउ, व्यवस्थापकीय रूपमा सक्षम र संस्थागत रूपमा निरन्तर रहने कम्पनीमा रूपान्तरण गर्नु अर्को ठूलो चुनौती हो।

नेपालमा नयाँ व्यवसाय सुरु गर्ने उत्साह बढिरहेको अवस्थामा यो पुस्तकको सान्दर्भिकता अझ महत्त्वपूर्ण छ।

व्यवसाय दर्ता गर्नु, लगानी जुटाउनु वा बजारमा उत्पादन सार्वजनिक गर्नु उद्यमशीलताको अन्तिम उपलब्धि होइन। वास्तविक परीक्षा त्यसपछि सुरु हुन्छ।

उद्यमीले ग्राहकको समस्या बुझ्न, उपयुक्त साझेदार छनोट गर्न, दक्ष जनशक्ति तयार गर्न, वित्तीय जोखिम व्यवस्थापन गर्न र समयअनुसार संस्थालाई बदल्न सक्नुपर्छ। कम्पनीको विस्तारसँगै संस्थापकको भूमिका पनि बदलिनुपर्छ।

समग्रमा, ‘आफ्टर द आइडिया’ नयाँ व्यवसाय सुरु गर्न चाहने, सञ्चालन गरिरहेका र विस्तारको तयारीमा रहेका उद्यमीका लागि उपयोगी पुस्तक हो।

यसले व्यवसायको सफलता एउटा आकर्षक विचार वा ठूलो लगानीबाट मात्र सम्भव नहुने देखाउँछ।

विचारलाई बजारको आवश्यकतासँग जोड्ने, मानिस र प्रणाली निर्माण गर्ने तथा विस्तारका क्रममा संस्थागत अनुशासन कायम राख्ने क्षमताले नै व्यवसायलाई दिगो बनाउँछ।

पुस्तकको मूल सन्देश यही हो-विचारले व्यवसायको ढोका खोल्छ, तर त्यसलाई कम्पनी बनाउने काम त्यसपछि सुरु हुन्छ।

2