काठमाडौं । नेपाल बैंकर्स संघले रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।
संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहे पनि केही कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। बाढी तथा डुबानका कारण विभिन्न बैंकका शाखासमेत प्रभावित भएका छन्।
विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालन गर्न चुनौती भएको संघले जनाएको छ।
बाढीका कारण ग्लोबल आईएमई बैंकका ७, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५, नबिल बैंकका ४ र एनआईसी एशिया बैंकका ३ शाखा बन्द भएका छन्।
त्यस्तै, माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना कर्मचारी सम्पर्कविहीन छन्। एनएमबि बैंकका टिमुरे शाखाका ४ जना तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका स्याफ्रुबेँसी र टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरका ७ जना कर्मचारी पनि सम्पर्कमा नआएको जनाइएको छ।
नेपाल बैंकर्स संघका अनुसार विभिन्न ७ बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।
चुनौतीपूर्ण अवस्थाबीच बैंकहरूले उपलब्ध स्रोतसाधन तथा वैकल्पिक व्यवस्थाको प्रयोग गर्दै बैंकिङ सेवा निरन्तरता दिन प्रयास गरिरहेको संघले जनाएको छ।
संघले नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको पनि जनाएको छ।
बैंकर्स संघले सरकारको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग गर्न बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ।
