काठमाडौँ। चीनले सन् २०३० सम्ममा व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित छैटौँ पुस्ताको अतिउच्च गतिको मोबाइल सञ्चार प्रविधिको अनुसन्धान तथा विकासलाई तीव्र बनाउने भएको छ।
बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ अधिकारीहरूले आगामी वर्षहरूमा छैटौँ पुस्ताको सञ्चार प्रविधिलाई देशको आर्थिक तथा प्राविधिक विकासका प्रमुख नयाँ चालकका रूपमा अघि बढाइने बताएका हुन्।
चिनियाँ अधिकारीहरूका अनुसार सरकारले छैटौँ पुस्ताको मोबाइल सञ्चारसँगै क्वान्टम कम्प्युटिङ, जैविक उत्पादन, हाइड्रोजन तथा आणविक संलयन ऊर्जा, मस्तिष्क–कम्प्युटर अन्तरसम्बन्ध र भौतिक रूपमा कार्य गर्न सक्ने कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको अनुसन्धान तथा विकासलाई प्राथमिकता दिनेछ।
छैटौँ पुस्ताको सञ्चार प्रविधिले हाल प्रयोगमा रहेको पाँचौँ पुस्ताको तुलनामा निकै उच्च गति, कम विलम्बता र ठूलो संख्यामा उपकरणबीच सञ्चारको क्षमता प्रदान गर्ने अपेक्षा गरिएको छ। यसको विकासले कृत्रिम बुद्धिमत्ता, स्वचालित प्रणाली, रोबोटिक्स, अन्तरिक्ष प्रविधि तथा औद्योगिक क्षेत्रमा नयाँ प्रयोगको सम्भावना बढाउनेछ।
चीनले सन् २०३० आसपास छैटौँ पुस्ताको सञ्चार प्रविधिलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउने तयारी गरिरहेको छ। यसका लागि अहिले अनुसन्धान, प्रविधि विकास र आवश्यक पूर्वाधार निर्माणलाई अघि बढाइरहेको अधिकारीहरूले बताएका छन्।
