काठमाडौं । एबीसी आयल इन्डस्ट्रिजको व्यापार एक वर्षमै ६० प्रतिशतले बढेर ७ अर्ब १० करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२५ मा ४ अर्ब ४२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको कारोबार सन् २०२४ मा १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ रहेको थियो । पछिल्लो दुई वर्षमा कम्पनीको कारोबार उल्लेख्य रूपमा विस्तार भएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले ७ देखि ८ प्रतिशत सञ्चालन मार्जिन कायम गरेको छ । कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ । सन् २०२५ मा २० करोड ५० लाख रुपैयाँ रहेको ग्रस क्यास एक्रुअल सन् २०२६ मा बढेर ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
सन् २०२१ मा स्थापना भएको एबीसी आयल इन्डस्ट्रिजले कच्चा तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले सन् २०२२ बाट व्यावसायिक कारोबार सुरु गरेको थियो । सन् २०२५ मा कम्पनी पब्लिक कम्पनीमा परिणत भएको थियो ।
कम्पनीसँग वार्षिक ७३ हजार मेट्रिक टन तेल प्रशोधन गर्ने क्षमता रहेको छ । यसमध्ये ४९ हजार मेट्रिक टन भटमासको तेल तथा १२ हजार मेट्रिक टनका दरले पाम तेल र सूर्यमुखी तेल प्रशोधन गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
व्यापार विस्तारसँगै कम्पनीको ऋण तथा दायित्वसम्बन्धी सूचकमा भने दबाब देखिएको छ । सन् २०२५ मा ३.५६ गुणा रहेको कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२६ मा बढेर ३.८७ गुणा पुगेको छ ।
कम्पनीको ब्याज भुक्तानी क्षमता भने सुधार भएको छ । सन् २०२५ मा ३ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२६ मा बढेर ३.८७ गुणा पुगेको छ ।
त्यस्तै, कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात ९.०६ गुणा पुगेको छ । सन् २०२५ मा उक्त अनुपात ८.७२ गुणा थियो । कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात पनि बढेको छ । सन् २०२५ मा ३.६० गुणा रहेको उक्त अनुपात सन् २०२६ मा ३.९० गुणा पुगेको छ ।
सञ्जय कोइराला अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ३ अर्ब ३० करोड ८ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड ८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराएको हो ।
