काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन्। यो रकम करिब ६ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी हुन्छ।
शनिबार रोयटर्ससँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणमा आवश्यक पर्ने रकम नेपालको कुल अर्थतन्त्रको करिब १० प्रतिशत बराबर हुने बताएका हुन्। नेपालको अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ रहेको छ।
वाग्लेका अनुसार ४ देखि ५ अर्ब अमेरिकी डलरको अनुमान प्रारम्भिक हो। सरकारले अहिले बाढीबाट भएको क्षतिको विस्तृत मूल्यांकन गरिरहेको छ।
उनले सन् २०१५ को भूकम्पको तुलनामा यसपटक पुनर्निर्माणका लागि कम रकम आवश्यक पर्ने बताएका छन्। २०७२ सालको भूकम्पपछि पुनर्निर्माणमा करिब ९ अर्ब अमेरिकी डलर खर्च भएको थियो, जुन त्यतिबेलाको नेपालको अर्थतन्त्रको करिब एक तिहाइ बराबर थियो।
भदौ १० गते हिमनदीको हिस्सा भत्किएर ढुंगा, हिउँ र लेदोसहित आएको भीषण बाढीले नेपाल र चीनको तिब्बत क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। बाढीबाट ६०० भन्दा बढी मानिसको मृत्यु भएको र २ हजारभन्दा बढी अझै बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ।
बाढीले सीमावर्ती क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याउनुका साथै दर्जनौँ पुल, सडक तथा जलविद्युत् आयोजनामा गम्भीर असर पारेको छ।
विप्रेषण, पर्यटन र जलविद्युत्मा आधारित नेपालको अर्थतन्त्रका लागि बाढी ठूलो आर्थिक धक्का बनेको छ। बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आयोजनाहरू प्रभावित भएको अर्थमन्त्री वाग्लेले बताएका छन्।
सरकारले अहिले प्रभावित क्षेत्रको भौतिक संरचना, जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ। विस्तृत मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक वास्तविक लागत यकिन हुने सरकारको भनाइ छ।
