काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ। यससँगै प्रभावित क्षेत्रमा बन्द भएका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन्।
आइतबारदेखि सञ्चालनमा आएका साइटमा रसुवाको नेपाल चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी बीटीएस साइट छन्।
रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा सुचारु भएको छ।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका वडा नम्बर ५ लगायतका क्षेत्रमा सेवा उपलब्ध हुनेछ।
छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशुली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको छ।
जिपजिपे साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी तथा देउरालीडाँडामा सेवा उपलब्ध हुनेछ।
गत्लाङ बीटीएस साइटबाट गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा सुचारु भएको टेलिकमले जनाएको छ।
चारघरे र चारघरे मुलाबारी बीटीएस साइट सञ्चालनमा आएपछि नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ र १३ मा पनि मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमले क्षतिग्रस्त पूर्वाधार मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत सेवा पुनः सञ्चालन गर्दै आएको छ।
