काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर ९ मा वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले कार्यक्रमको मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ।
एप्पल पार्कस्थित स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ। कार्यक्रम युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
रिपोर्टअनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण हुनेछन्। यी मोडलमा नयाँ ए२० प्रो चिप, सुधारिएको क्यामेरा तथा केही डिजाइन परिवर्तन हुने अपेक्षा गरिएको छ।
यसै कार्यक्रममा पुस्तकजस्तै मोडिने फोल्डेबल आइफोन ‘अल्ट्रा’ पनि सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ। फोल्डेबल मोडल आएमा यो एप्पलको स्मार्टफोन इतिहासकै ठूलो डिजाइन परिवर्तनमध्ये एक हुने विश्लेषण गरिएको छ।
यसैबीच, एप्पलले आफ्नो नेभिगेसन सेवा एप्पल म्याप्समा विज्ञापन सुविधा सुरु गरेको छ। कम्पनीका अनुसार यो सुविधा आगामी केही साताभित्र थप प्रयोगकर्तामाझ विस्तार गरिनेछ।
एप्पल म्याप्समा विज्ञापन निलो रंगको ‘एड’ चिन्हसहित देखिनेछन्। विज्ञापन खोजी गर्नुअघि देखिने ‘सजेस्टेड प्लेस’ र खोजी गरेपछि सम्बन्धित सर्च रिजल्टमा देखाइने कम्पनीले जनाएको छ।
एप्पलले म्याप्समा विज्ञापन थपिए पनि प्रयोगकर्ताको गोपनीयतामा सम्झौता नहुने दाबी गरेको छ। कम्पनीका अनुसार प्रयोगकर्ताको लोकेसन, विज्ञापन हेरेको विवरण वा त्यसमा गरेको अन्तरक्रिया एप्पल अकाउन्टसँग जोडिने छैन।
व्यक्तिगत जानकारी प्रयोगकर्ताकै डिभाइसमा सुरक्षित रहने र एप्पलले त्यस्तो जानकारी संकलन वा भण्डारण नगर्ने जनाएको छ। त्यस्तै, प्रयोगकर्ताको व्यक्तिगत जानकारी तेस्रो पक्षसँग साझेदारी पनि नगरिने कम्पनीको दाबी छ।
एएनआईको सहयोगमा
