काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई प्रविधिको विस्तारसँगै विश्वभर अर्बपतिको संख्या र उनीहरूको सम्पत्ति बढेको छ।
अल्ट्राटाको हालै सार्वजनिक रिपोर्टअनुसार सन् २०२५ मा विश्वभर अर्बपतिको संख्या ३ हजार ७९५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशत बढी हो। पछिल्लो पाँच वर्षमा अर्बपतिको संख्यामा भएको यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।
रिपोर्टअनुसार सन् २०२५ मा विश्वका अर्बपतिको कुल सम्पत्ति १२.८ प्रतिशतले बढेर १५.१ ट्रिलियन अमेरिकी डलर पुगेको छ। एआईमा केन्द्रित प्रविधि कम्पनीको शेयर मूल्य बढ्दा अर्बपतिको सम्पत्ति बढाउन ठूलो योगदान पुगेको रिपोर्टमा उल्लेख छ।
अल्ट्राटाले अर्बपतिको सम्पत्ति वृद्धिमा योगदान गरेका सार्वजनिक रूपमा सूचीकृत १५० कम्पनीको अध्ययन गरेको थियो। अध्ययनअनुसार पछिल्लो पाँच वर्षमा एआईमा कम्तीमा ३० मिलियन डलर लगानी गरेका कम्पनीको बजार पुँजीकरण सन् २०२४ देखि २०२५ सम्म एआईमा लगानी नगरेका कम्पनीको तुलनामा २३ प्रतिशत बढीले बढेको थियो।
एआई र प्रविधि कम्पनीको विस्तारसँगै अर्बपतिको सम्पत्ति बढे पनि धनी व्यक्तिहरूबीचको सम्पत्ति असमानता भने अझ बढेको रिपोर्टले देखाएको छ।
सन् २०२५ मा ५० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २९ जना सुपर अर्बपति रहेका छन्। उनीहरूको संयुक्त सम्पत्ति ४.१ ट्रिलियन डलर पुगेको छ। यो विश्वका सबै अर्बपतिको कुल सम्पत्तिको करिब २७ प्रतिशत हो।
सन् २०१७ मा ५० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका सुपर अर्बपतिको संख्या १० जना मात्रै थियो। त्यतिबेला उनीहरूको हिस्सा कुल अर्बपति सम्पत्तिको ७.२ प्रतिशत थियो।
अल्ट्राटाकी थट लिडरसिप तथा एनालिटिक्स प्रमुख माया इम्बर्गका अनुसार एआईसँग प्रत्यक्ष जोडिएका प्रविधि कम्पनीको शेयरमा आधारित सम्पत्ति निकै उतारचढावयुक्त हुन सक्छ। एआईसम्बन्धी बजार धारणा परिवर्तन हुँदा प्रविधि कम्पनीका मालिक तथा विश्वका धनी व्यक्तिको सम्पत्तिमा पनि ठूलो वृद्धि वा गिरावट आउन सक्छ।
क्षेत्रगत रूपमा उत्तर अमेरिका अर्बपतिको संख्यामा सबैभन्दा अगाडि छ। सन् २०२५ मा उत्तर अमेरिकामा १ हजार ३३७ अर्बपति पुगेका छन्। यो अघिल्लो वर्षको तुलनामा ११.६ प्रतिशत बढी हो।
अमेरिकी निजी तथा सार्वजनिक प्रविधि बजारमा रहेको प्रभुत्वलाई उत्तर अमेरिकामा अर्बपतिको संख्या बढ्नुको प्रमुख कारण मानिएको छ।
युरोपमा अर्बपतिको संख्या १ हजार ८१ पुगेको छ। एसियामा ८८१ अर्बपति पुगेका छन्। युरोपमा अर्बपतिको संख्या ७.९ प्रतिशत र एसियामा ६.५ प्रतिशतले बढेको छ।
एआईमा बढेको लगानीले प्रविधि क्षेत्रमा ठूलो सम्पत्ति सिर्जना गरे पनि यससँगै जोखिम पनि बढेको छ। विशेषगरी अर्बपतिको सम्पत्ति प्रविधि र एआईमा बढी केन्द्रित हुँदा शेयर बजारमा आउने उतारचढावले उनीहरूको सम्पत्तिमा ठूलो असर पार्न सक्छ।
