काठमाडौं । निरन्तर दबाबमा रहेको सेयरबजार सुधारका लागि सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै पूँजीबजारमा देखिएका समस्या समाधान गर्न आगामी साताभित्र सुधारसम्बन्धी विशेष प्याकेज सार्वजनिक गरिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूँजीबजारलाई पूँजी निर्माणको आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए।
उनले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइने जानकारी दिए।
निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास बढाउनेदेखि बाढी प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानसम्मका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास पुनःस्थापित गर्न छुट्टै प्याकेजसमेत तयार भइरहेको बताए।
रोकिएका लगानीलाई अघि बढाउने, नयाँ लगानी आकर्षित गर्ने तथा उत्पादन र रोजगारी विस्तार गर्ने उद्देश्यले निजी क्षेत्रसँग सम्बन्धित सुधारका कार्यक्रम ल्याइने उनले बताए।
