काठमाडौं। गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार बाढीले करिब १ हजार ८०० हेक्टर खेतीयोग्य जमिन नष्ट गरेको छ, जसबाट करिब ७ हजार ७०० मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान गरिएको छ।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीका कारण हजारौँ मानिसले ज्यान गुमाएको र कैयौँ बेपत्ता भएको बताउँदै यसले किसानको जीविकोपार्जनमा गम्भीर असर पारेको उल्लेख गरिन्।
बाढीले खेतबारीमा माटो र गेग्रान थुपार्नुका साथै माछापोखरी, खाद्य भण्डार र कृषि पूर्वाधारमा क्षति पुर्याएको छ। सडक र पुल बगेका कारण खाद्यान्न तथा पशु आहाराको आपूर्तिमा समेत अवरोध उत्पन्न भएको छ।
प्रभावित ११ वटा पालिकामा बाढीअघि करिब ३ लाख ५० हजार गाईभैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा रहेका थिए।
एफएओको अनुमानअनुसार बाढीका कारण पशुधन र कुखुराको सङ्ख्यामा ५ देखि १० प्रतिशतसम्म क्षति पुगेको छ। उपमहानिर्देशक बेचडोलले भनिन्, ‘किसान परिवारका लागि एउटा पशु गुमाउनु भनेको तत्कालको खाद्य स्रोत गुमाउनु मात्र होइन, भविष्यको आम्दानी र उत्पादनको आधार पनि गुमाउनु हो।’
हाल एफएओले नेपाल सरकारसँगको सहकार्यमा बाली, पशुधन र कृषि पूर्वाधारमा पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको छ। यसका लागि स्थलगत अवलोकनका साथै उपग्रह र रिमोट सेन्सिङ प्रविधिको प्रयोग भइरहेको छ।
प्रभावित किसानलाई तत्काल बीउबिजन, पशु आहारा र स्वास्थ्य सेवाको आवश्यकता रहेको सङ्गठनले जनाएको छ। बाढीपछि पशुमा रोग फैलिन सक्ने जोखिम उच्च रहेकाले खोप, उपचार र रोग निगरानीमा विशेष ध्यान दिनुपर्नेमा एफएओले जोड दिएको छ।
