काठमाडौं। बढ्दो आन्तरिक तथा बाह्य बसाइँसराइका कारण युवा जनशक्ति पलायन हुँदा नेपालमा श्रमशक्तिको अभाव हुन सक्ने जनसङ्ख्या विज्ञहरूले चेतावनी दिएका छन्। नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा विज्ञहरूले उत्पादनशील उमेर समूहको अधिकतम उपयोग गर्न राज्यले प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिएका हुन्।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पद्मप्रसाद खतिवडाले बसाइँसराइका बहुआयामिक पक्ष नबुझी समाजवादको लक्ष्य प्राप्ति कठिन हुने बताए। उनले रोजगारी, प्राकृतिक प्रकोप र द्वन्द्वजस्ता कारणले बसाइँसराइ बढेको उल्लेख गर्दै यसले पहाडी तथा हिमाली क्षेत्रको उत्पादन प्रणालीमा उथलपुथल ल्याएको बताए। खतिवडाका अनुसार विसं २०५२ मा ३ हजार २५९ रहेको श्रम स्वीकृति लिनेको सङ्ख्या द्वन्द्वको एक दशकभित्रै १ लाख ६५ हजार १०३ पुगेको थियो। साथै, वैदेशिक रोजगारीमा भारतको हिस्सा विसं २०३८ को ९५ प्रतिशतबाट घटेर २०७८ सम्म ३७.५ प्रतिशतमा सीमित भएको छ।
त्यसैगरी, सोही विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्यालाई केवल सङ्ख्याका रूपमा नभई स्रोत र साधनका रूपमा हेर्नुपर्ने बताए। नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर एक प्रतिशतभन्दा कम हुनु, आर्थिक रूपमा सक्रिय जनसङ्ख्या ६५ प्रतिशत रहनु र औसत आयु ७१ वर्ष पुग्नुलाई उनले महत्वपूर्ण उपलब्धि भनेका छन्। उनले भने, ‘जनसङ्ख्याको यो सुनौलो अवसरलाई राज्यले समाजवादी बाटो फराकिलो बनाउने उपयुक्त अवसरका रूपमा ग्रहण गर्नुपर्छ।’ विज्ञहरूले घट्दो जन्मदर र बढ्दो ज्येष्ठ नागरिकको सङ्ख्यालाई चुनौती र अवसर दुवैका रूपमा व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
