इटालीको मारानेल्लोबाट निस्किएको रातो फेरारी सडकमा गुड्दा त्यो केवल एउटा महँगो कार हुँदैन ।
त्यससँगै एउटा लामो इतिहास, रेसिङको रोमाञ्च, इटालियन डिजाइन, उच्च प्रविधि र विलासिताको एउटा संसार पनि सडकमा आउँछ ।
यही कारण फेरारीलाई अरू कार कम्पनीसँग एउटै तराजुमा राखेर हेर्न गाह्रो हुन्छ ।
संसारमा धेरै कार निर्माता छन्, धेरै शक्तिशाली कार बनाउने कम्पनी छन् र अझ धेरै कार बेच्ने कम्पनी पनि छन्, तर थोरै कार बनाएर पनि यति धेरै चाहना सिर्जना गर्ने कम्पनी निकै कम छन् ।
फेरारीको असली कथा यहीँबाट सुरु हुन्छ ।
यसको सफलता वर्षमा कति कार उत्पादन गर्यो भन्ने संख्यामा मात्र छैन, मानिसलाई त्यो कार किन्नुअघि नै त्यसको सपना देखाउन सक्ने क्षमतामा छ ।
एउटा फेरारी किन्न चाहने मानिसले बजारमा गएर तुरुन्तै कार पाउँदैन ।
धेरै अवस्थामा उसले प्रतीक्षा गर्नुपर्छ, आफ्नो रोजाइअनुसार कार बनाउनुपर्छ र त्यसका लागि ठूलो रकम खर्च गर्नुपर्छ ।
तर अचम्म के छ भने यो प्रतीक्षा नै फेरारीको कमजोरी बनेको छैन, बरु यसको आकर्षणको एउटा हिस्सा बनेको छ ।
सन् २०२५ मा फेरारीले १३ हजार ६४० वटा कार ग्राहकसम्म पुर्यायो । अघिल्लो वर्ष १३ हजार ७५२ वटा कार पुर्याएको थियो ।
कारको संख्या थोरै घटे पनि कम्पनीको आम्दानी भने सात प्रतिशतले बढेर ७ अर्ब १४ करोड ६० लाख युरो पुग्यो । सञ्चालनबाट भएको नाफा २ अर्ब ११ करोड युरो र खुद नाफा १ अर्ब ६० करोड युरो पुगेको थियो ।
कम्पनीको सञ्चालन नाफाको दर २९ दशमलव पाँच प्रतिशत थियो । यसले फेरारीको व्यापारको मूल शक्ति धेरै कार बेच्नुमा होइन, प्रत्येक कारबाट धेरै मूल्य सिर्जना गर्नुमा रहेको देखाउँछ ।
अझ रोचक पक्ष के छ भने फेरारीको अर्डर सूची सन् २०२७ को अन्त्यसम्म पुगेको छ । अर्थात् कम्पनीले कार बनाएर ग्राहक खोजिरहेको छैन, ग्राहकले नै भविष्यमा बन्ने कारका लागि आफ्नो ठाउँ सुरक्षित गरिरहेका छन् ।
यस्तो व्यवसायिक शक्ति एकै दिनमा बनेको होइन । यसको जरा एक शताब्दीअघिको इटालीमा पुग्छ, जहाँ एउटा मानिस कार बेच्नुभन्दा रेस जित्न चाहन्थ्यो ।
त्यही मानिसको सपना पछि संसारकै चिनिएका कार ब्रान्डमध्ये एक बन्यो । उनको नाम थियो एन्जो फेरारी ।
रेस जित्ने एन्जोको सपना
एन्जो फेरारीको जीवनको सबैभन्दा ठूलो आकर्षण मोटर रेस थियो । उनी चालकका रूपमा रेसिङ संसारमा प्रवेश गरेका थिए ।
त्यहाँ उनले गति मात्र देखेनन्, कारको शक्ति, चालकको क्षमता, इन्जिनको प्रविधि र रेस जित्न आवश्यक संगठनको महत्व पनि बुझे । यही अनुभवले पछि उनको व्यवसायिक सोच निर्माण गर्यो ।
सन् १९२९ मा उनले मोडेनामा स्कुदेरिया फेरारी स्थापना गरे । सुरुमा त्यो आफ्नै कार बनाउने कम्पनी थिएन ।
अल्फा रोमियोका कार प्रयोग गरेर रेसिङ गर्ने टोली थियो । तर एन्जोको महत्वाकांक्षा अरूको कार चलाएर जित्नेमा सीमित थिएन । उनी आफ्नै नामको कार बनाउन चाहन्थे ।
आफ्नै इन्जिन चाहन्थे र आफ्नै प्रविधिको बलमा रेस जित्न चाहन्थे ।
त्यो समय कार उत्पादन आफैँमा निकै कठिन काम थियो । त्यसमा पनि रेसिङका लागि उच्च क्षमताको कार बनाउनु झन् कठिन थियो । तर एन्जोले रेसिङलाई खर्चिलो खेलका रूपमा मात्र हेरेनन् ।
उनले यसलाई नयाँ प्रविधि परीक्षण गर्ने ठाउँका रूपमा लिए । सडकमा चल्ने कारको क्षमता बढाउन रेसिङबाट सिक्न सकिन्छ भन्ने उनको सोच थियो ।
यही सोच पछि फेरारीको सबैभन्दा ठूलो व्यवसायिक आधार बन्यो । फेरारीले रेसमा परीक्षण गरेको प्रविधि सडकमा ल्यायो । सडकमा बिक्री हुने कारले फेरि रेसिङलाई आर्थिक आधार दियो ।
यसरी रेसिङ र व्यापारबीच एउटा यस्तो सम्बन्ध बन्यो, जुन आजसम्म फेरारीको पहिचान बनेर बसेको छ ।
पहिलो कारमै आएको झट्का
सन् १९४७ मा एन्जो फेरारीको नाम बोकेको पहिलो कार तयार भयो । त्यो थियो १२५ एस ।
मार्च १२ मा त्यसको इन्जिन पहिलोपटक चलाइएको थियो । केही सातापछि त्यो रेसिङ मैदानमा पुग्यो । तर पहिलो प्रयास सुखद रहेन । कार अगाडि दौडिरहेको अवस्थामा इन्धन पम्पमा समस्या आएपछि रेस पूरा गर्न सकेन ।
नयाँ कम्पनीका लागि त्यो निराशाजनक सुरुवात थियो । तर एन्जोका लागि असफलता बाटो रोक्ने कारण बनेन ।
कार सुधारियो र केही दिनपछि फेरि रेसमा उतारियो । मे २५, १९४७ मा फ्रान्को कोर्टेसेले त्यही १२५ एस चलाएर रोम ग्रान्ड प्रिक्स जिते । त्यो फेरारीको पहिलो जित थियो । त्यही वर्ष १२५ एसले छ वटा रेस जितेको फेरारीको आधिकारिक इतिहासमा उल्लेख छ ।
फेरारीको प्रारम्भिक यात्रामा यो घटना निकै महत्वपूर्ण थियो । पहिलो रेसमा कार बिग्रियो, तर त्यसलाई असफलताको अन्तिम बिन्दु बनाइएन । समस्या पहिचान गरियो, कार सुधारियो र फेरि मैदानमा फर्कियो ।
यही संस्कार पछि फेरारीको प्रविधि विकासमा पनि देखियो । एउटा कार तयार भएपछि काम सकिँदैनथ्यो, त्यसलाई अझ राम्रो बनाउन निरन्तर परीक्षण र सुधार गरिन्थ्यो ।
यही कारण फेरारीका लागि रेसिङ केवल पदक जित्ने माध्यम रहेन । त्यो अनुसन्धान र विकासको प्रयोगशाला बन्यो । इन्जिनको क्षमता, कारको तौल, गति, नियन्त्रण, वायुगतिकी र चालकसँगको तालमेलजस्ता विषय रेसमै परीक्षण हुन्थे । सफल भएको प्रविधि पछि सडकमा पुग्थ्यो ।
रेसले बनाएको नाम
सन् १९५० मा विश्व फर्मुला वान च्याम्पियनसिप सुरु भयो र फेरारी त्यसमा सहभागी भयो ।
सन् १९५१ को बेलायती ग्रान्ड प्रिक्समा जोस फ्रोइलान गोन्जालेजले फेरारीका लागि पहिलो फर्मुला वान जित दिलाए । त्यसपछि फेरारीको नाम विश्व मोटर रेसिङमा अझ बलियो हुँदै गयो ।
सन् १९५२ मा अल्बर्टो अस्कारीले फेरारीका लागि चालकतर्फको पहिलो विश्व उपाधि जिते ।
फेरारीले यहाँ एउटा असाधारण कुरा गरिरहेको थियो । अरू कम्पनीका लागि रेसिङ विज्ञापनको एउटा माध्यम थियो, फेरारीका लागि रेसिङ नै ब्रान्ड निर्माणको मुख्य आधार बन्यो ।
फेरारीको कार जित्थ्यो, जितको समाचार संसारभर पुग्थ्यो र त्यससँगै फेरारीको नाम पनि पुग्थ्यो । मानिसहरूले फेरारीलाई रेसिङसँग जोड्न थाले । रेसिङलाई गति, शक्ति र साहससँग जोड्ने मानिसले फेरारीलाई त्यसैको प्रतीकका रूपमा हेर्न थाले ।
समय बित्दै जाँदा यो सम्बन्ध अझ बलियो भयो । फेरारीले फर्मुला वानमा लगातार उपस्थिति कायम राख्यो । टोलीको इतिहासमा १६ वटा निर्माता विश्व उपाधि र १५ वटा चालक विश्व उपाधि छन् ।
२०२६ को बेलायती ग्रान्ड प्रिक्समा चार्ल्स लेक्लेर्कले जित हासिल गरेपछि फेरारीले विश्व च्याम्पियनसिपअन्तर्गत २५० वटा ग्रान्ड प्रिक्स जित पूरा गरेको छ ।
यी संख्या केवल खेलकुदका तथ्य होइनन् । यी फेरारीले आफ्नो कारको मूल्य बढाउन प्रयोग गरेको इतिहास हुन् ।
ग्राहकले फेरारी किन्दा नयाँ कार मात्र किन्दैन, उसले दशकौँ लामो रेसिङ इतिहाससँग जोडिएको वस्तु किन्छ ।
थोरै कार, ठूलो मूल्य
फेरारीको व्यवसायिक रणनीति बुझ्न सबैभन्दा महत्वपूर्ण कुरा यसको उत्पादन नीति हो ।
संसारका धेरै कार कम्पनीका लागि उत्पादन बढाउनु सफलताको संकेत हो । धेरै कार बनाउने, धेरै बजारमा पुर्याउने र बजार हिस्सा बढाउने प्रयास गरिन्छ ।
फेरारीले भने जानाजान आफ्नो उत्पादनलाई नियन्त्रणमा राखेको छ ।
सन् २०१४ मा फेरारीले ७ हजार २५५ वटा कार पठाएको थियो । सन् २०२५ मा त्यो संख्या बढेर १३ हजार ६४० पुगेको छ ।
एक दशकभन्दा बढी समयमा उत्पादन बढेको भए पनि फेरारी अझै ठूलो परिमाणमा कार उत्पादन गर्ने कम्पनी बनेको छैन ।
कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमै उत्पादनलाई नियन्त्रणमा राख्नुको उद्देश्य ब्रान्डको विशेषता र दुर्लभता कायम राख्नु रहेको उल्लेख गरेको छ ।
यसको व्यवसायिक अर्थ निकै गहिरो छ । बजारमा कुनै वस्तु सजिलै उपलब्ध भयो भने त्यसको दुर्लभता घट्छ । तर कुनै वस्तु सीमित मात्रामा उपलब्ध छ र त्यसका लागि मानिसले पर्खनुपर्छ भने त्यसको चाहना बढ्न सक्छ ।
फेरारीले यही मनोविज्ञानलाई व्यवसायमा परिणत गरेको छ ।
कम्पनीको उत्पादन क्षमता मात्र हेरेर ग्राहकको माग पूरा गर्न सकिन्छ । तर फेरारीको उद्देश्य त्यति मात्र होइन ।
उसले आफ्नो कार किन्न चाहने मानिसको संख्या र बजारमा उपलब्ध कारको संख्या बीच निश्चित दूरी कायम राख्न चाहन्छ । यही दूरीले फेरारीको विशेषता जोगाउँछ ।
त्यसैले फेरारीका लागि प्रतीक्षा सूची समस्या मात्र होइन । त्यो ब्रान्डको मूल्यसँग जोडिएको एउटा हिस्सा हो ।
कारभन्दा पहिले आउँछ चाहना
फेरारीको सबैभन्दा ठूलो सफलता मानिसलाई कार चाहिने अवस्थाबाट कारको सपना देख्ने अवस्थासम्म पुर्याउनु हो ।
एउटा सामान्य कार ग्राहकले मूल्य, इन्धन खर्च, सुविधा, मर्मत खर्च र उपयोगिता हेरेर निर्णय गर्न सक्छ । फेरारीको ग्राहकको निर्णयमा यी कुरा भए पनि त्यसबाहेक भावनात्मक पक्ष धेरै बलियो हुन्छ ।
बाल्यकालमा देखेको रातो कार, रेसिङको दृश्य, फर्मुला वानका चालक, फेरारीको घोडाको चिन्ह र मारानेल्लोको कथा ग्राहकको चाहनासँग जोडिन्छ । धेरै वर्षपछि आर्थिक क्षमता पुगेपछि त्यही चाहना खरिदको निर्णयमा बदलिन सक्छ ।
यही कारण फेरारीले अहिलेको ग्राहक मात्र खोज्दैन । उसले भविष्यको ग्राहक पनि निर्माण गर्छ ।
रेसिङमा आफ्नो उपस्थिति कायम राख्नुको एउटा ठूलो कारण यही हो । एउटा बच्चाले आज फेरारी किन्न सक्दैन, तर उसले आज फेरारीलाई आफ्नो सपनाको कार बनाउन सक्छ । भविष्यमा त्यही बच्चा ग्राहक बन्न सक्छ ।
यसरी फेरारीको विज्ञापन केवल बिक्रीका लागि हुँदैन । त्यो लामो समयका लागि चाहना निर्माण गर्ने माध्यम हो ।
एउटै ग्राहक फेरि फेरारीमै फर्किन्छ
फेरारीको ग्राहक व्यवहारमा अर्को असाधारण पक्ष पनि छ । सन् २०२५ मा नयाँ फेरारी खरिद गर्ने करिब ८४ प्रतिशत ग्राहकसँग पहिले नै कम्तीमा एउटा फेरारी थियो । करिब ५६ प्रतिशतसँग एकभन्दा बढी फेरारी थियो ।
यसले फेरारीको ग्राहक सम्बन्ध कति बलियो छ भन्ने देखाउँछ । सामान्य कार कम्पनीका लागि एउटा ग्राहकले एउटा कार किनेपछि अर्को पाँच वा सात वर्षमा नयाँ कार किन्ने सम्भावना हुन्छ । फेरारीको ग्राहकका लागि भने एउटा फेरारी किन्नु यात्रा सुरु हुनुजस्तै हुन सक्छ ।
नयाँ मोडल आउँछ । विशेष संस्करण आउँछ । नयाँ प्रविधि आउँछ । ग्राहकको रुचिअनुसार फरक डिजाइन बनाउन सकिन्छ । त्यसपछि पुरानै ग्राहक फेरि नयाँ फेरारीतर्फ आकर्षित हुन्छ ।
यसरी फेरारीले प्रत्येक ग्राहकसँगको सम्बन्धलाई लामो बनाएको छ । एउटै ग्राहकबाट पटकपटक आम्दानी लिन सक्ने क्षमता कम्पनीको ठूलो सम्पत्ति बनेको छ ।
यही कारण फेरारीको ग्राहकलाई केवल कार खरिदकर्ता मान्न मिल्दैन । उनीहरू कम्पनीको दीर्घकालीन बजार हुन् ।
ग्राहकको रोजाइ पनि व्यवसाय
फेरारीले एउटा कारको मूल्य कारखानाबाट निस्कँदा मात्र निर्धारण गर्दैन । ग्राहकले आफ्नो कार कस्तो बनाउने भन्ने निर्णय गर्दा पनि त्यसमा मूल्य थपिन्छ ।
बाहिरी रंगदेखि भित्री सामग्री, सिटको बनोट, सिलाइ, कार्बन सामग्री, धातुको प्रयोग, ध्वनि प्रणाली, सुरक्षा सुविधा र अन्य धेरै विकल्पमा ग्राहकले आफ्नो रोजाइ मिसाउन सक्छ ।

एउटै मोडलका दुई फेरारी बाहिरबाट उस्तै देखिए पनि ग्राहकले रोजेका सुविधाका कारण तिनको मूल्य र पहिचान फरक हुन सक्छ ।
यो फेरारीको अर्को महत्वपूर्ण आम्दानीको बाटो हो । कम्पनीको पछिल्लो वित्तीय विवरणमा उत्पादनको मिश्रण र ग्राहकले रोज्ने अतिरिक्त सुविधाका कारण आम्दानी बढेको उल्लेख छ ।
यसले एउटा साधारण कुरालाई व्यवसायिक शक्तिमा बदल्छ । ग्राहकले आफ्नो इच्छा पूरा गर्न थप रकम खर्च गर्न तयार हुन्छ । कम्पनीले त्यसलाई अतिरिक्त आम्दानीमा बदल्छ ।
अझ महत्वपूर्ण कुरा, ग्राहकले आफ्नो कारलाई अरूको भन्दा फरक बनाएको अनुभूति गर्छ ।
त्यसपछि त्यो कार केवल फेरारी रहँदैन । त्यो उसको आफ्नै फेरारी बन्छ ।
फियाटसँग जोडिए पनि पहिचान जोगियो
फेरारीको विकासमा पूँजीको पनि महत्वपूर्ण भूमिका छ । सन् १९६९ मा फियाटले फेरारीको ५० प्रतिशत हिस्सा किनेको थियो । ठूलो औद्योगिक समूहसँग जोडिएपछि फेरारीलाई विकासका लागि थप आर्थिक र औद्योगिक आधार प्राप्त भयो ।
तर फेरारीको चुनौती आफ्नो पहिचान जोगाउनु थियो ।
ठूलो समूहमा मिसिँदा ब्रान्डको मौलिकता कमजोर हुन सक्छ । फेरारीले भने आफ्नो रेसिङ संस्कृति, डिजाइन र उत्पादनको विशिष्टतालाई कायम राख्यो ।
सन् २०१५ मा फेरारीको शेयर पहिलोपटक न्यूयोर्क स्टक एक्सचेन्जमा कारोबार भयो ।
त्यसपछि सन् २०१६ को सुरुवातमा कम्पनी फियाट क्रिस्लरबाट अलग भएर स्वतन्त्र कम्पनीका रूपमा अघि बढ्यो र मिलानको शेयर बजारमा पनि कारोबार सुरु भयो ।
यसपछि फेरारीले आफूलाई केवल कार निर्माता होइन, उच्च मूल्य भएको विलासी ब्रान्डका रूपमा प्रस्तुत गर्न अझ बढी स्वतन्त्रता पायो ।
शुमाकरले फेरि जगाए पुरानो गौरव
फेरारीको इतिहासमा माइकल शुमाकरको प्रवेश एउटा महत्वपूर्ण मोड थियो ।
सन् १९९६ मा उनी फेरारीसँग जोडिँदा टोलीसँग ठूलो इतिहास भए पनि लामो समयदेखि चालकतर्फको विश्व उपाधि हात परेको थिएन ।
शुमाकर आएपछि तत्काल चमत्कार भएन । तर टोली निर्माणमा लामो समय लगानी भयो । चालक, इन्जिनियर, कार विकास, रेस रणनीति र इन्जिनको क्षमतामा क्रमिक सुधार गरियो ।
अन्ततः सन् २००० मा शुमाकरले फेरारीका लागि चालक विश्व उपाधि जिते । त्यसपछि २००१, २००२, २००३ र २००४ मा पनि उनले लगातार उपाधि जिते ।
यो सफलता फेरारीको ब्रान्डका लागि पनि ठूलो पुनरागमन थियो । रातो फेरारीमा शुमाकरको छवि संसारभर फैलियो । नयाँ पुस्ताले फेरारीलाई फेरि रेसिङको सबैभन्दा ठूलो नामका रूपमा चिन्न थाल्यो ।
फेरि एकपटक रेसिङले बिक्रीभन्दा ठूलो काम गर्यो । यसले भावी ग्राहकको कल्पनामा फेरारीको स्थान सुरक्षित गर्यो ।
रेसिङले कमाउने पैसा र बनाउने प्रतिष्ठा
फेरारीको रेसिङ गतिविधिबाट प्रत्यक्ष आम्दानी पनि हुन्छ । प्रायोजन, फर्मुला वानसँग जोडिएका व्यावसायिक अधिकार र अन्य गतिविधिबाट कम्पनीले आम्दानी गर्छ । २०२५ मा नयाँ प्रायोजन सम्झौताका कारण रेसिङसम्बन्धी आम्दानी बढेको फेरारीले जनाएको छ ।
तर रेसिङको सबैभन्दा ठूलो आम्दानी रकममा मापन गर्न सकिँदैन । त्यो हो प्रतिष्ठा ।
फेरारीले विश्वका करोडौँ दर्शकले हेर्ने प्रतियोगितामा आफ्नो नाम देखाउँछ । कार दौडिन्छ । चालकको हेल्मेटमा फेरारी हुन्छ । टोलीको पोसाकमा फेरारी हुन्छ । रेस जित्दा संसारभर समाचार बन्छ ।
त्यसपछि त्यही नाम सडकमा बिक्री हुने कारसँग जोडिन्छ ।
यसरी रेसिङ र कार बिक्रीबीच एउटा घेरा बन्छ । कार बिक्रीबाट आएको पैसा रेसिङमा खर्च हुन्छ । रेसिङले प्रविधि र प्रतिष्ठा दिन्छ । प्रतिष्ठाले कारको चाहना बढाउँछ । चाहनाले कारको मूल्य बढाउँछ । यही चक्रले फेरारीलाई अरू कम्पनीभन्दा अलग बनाएको छ ।
कारभन्दा बाहिर फैलिएको फेरारी
फेरारीले आफ्नो नाम कारमा मात्र सीमित राखेको छैन । कम्पनीको ब्रान्डसँग जोडिएका कपडा, सामग्री, ग्राहक कार्यक्रम, संग्रहणीय वस्तु, संग्रहालय र अन्य अनुभवात्मक गतिविधि पनि विकास भएका छन् ।
तर यसको उद्देश्य जहाँसुकै फेरारीको चिन्ह राखेर धेरै सामान बेच्नु होइन । कम्पनीले आफ्नो नामको प्रतिष्ठासँग मेल खाने उत्पादन र अनुभवमार्फत ब्रान्डको संसार विस्तार गरेको छ ।
मारानेल्लोको फेरारी संग्रहालयमा पुग्ने मानिसले कार मात्र हेर्दैन । उसले कम्पनीको इतिहास, रेसिङ र विकासको कथा बुझ्छ । ग्राहकका विशेष कार्यक्रमले फेरारीसँग प्रत्यक्ष सम्बन्धको अनुभूति दिन्छन् । कार नकिन्ने मानिसले पनि फेरारीको संसारमा प्रवेश गर्ने अवसर पाउँछ ।
यसबाट ब्रान्डले अर्को आम्दानी मात्र बनाउँदैन । ग्राहकसँग भावनात्मक सम्बन्ध पनि बलियो बनाउँछ ।
२०२५ मा फेरारीले जीवनशैलीसँग जोडिएका गतिविधि, ग्राहक अनुभव र आफ्नो ब्रान्डको पहुँच विस्तारमा थप लगानी गरेको जनाएको छ ।
यसको उद्देश्य स्पष्ट छ । फेरारीलाई केवल कारको नाम नभई एउटा अनुभवका रूपमा स्थापित गर्नु ।
सीमितता नै यसको शक्ति
फेरारीले जति विस्तार गरिरहेको छ, त्यति नै आफ्नो सीमितता पनि जोगाइरहेको छ । यो विरोधाभासजस्तो लागे पनि यही यसको व्यवसायिक शक्ति हो ।
कम्पनीले धेरै बजारमा पुग्न चाहन्छ । नयाँ ग्राहक चाहन्छ । नयाँ मोडल ल्याउँछ । विद्युतीय र मिश्रित प्रविधितर्फ जान्छ । तर त्यही समयमा आफ्नो उत्पादनलाई नियन्त्रणमा राख्छ ।
यसको कारण सरल छ । फेरारी सबैका लागि उपलब्ध भयो भने फेरारीको विशेषता घट्न सक्छ ।
विलासी वस्तुको मूल्य केवल त्यसको उत्पादन खर्चले निर्धारण गर्दैन । त्यसको दुर्लभता, इतिहास, प्रतिष्ठा र ग्राहकको अनुभूतिले पनि मूल्य निर्धारण गर्छ ।
फेरारीले यही कुरा धेरै पहिले बुझिसकेको थियो ।
विद्युतीय युगको नयाँ चुनौती
अब फेरारी नयाँ मोडमा पुगेको छ । संसारको मोटर उद्योग पेट्रोल र डिजेलबाट विद्युतीय प्रविधितर्फ अघि बढिरहेको छ । फेरारी पनि यसबाट अलग रहन सक्दैन ।
सन् २०२५ मा फेरारीबाट ग्राहकसम्म पुगेका कारमध्ये ४२ प्रतिशत मिश्रित प्रविधिका थिए भने ५८ प्रतिशत परम्परागत इन्जिन भएका कार थिए ।
तर फेरारीका लागि विद्युतीकरण केवल इन्जिन परिवर्तन गर्ने विषय होइन ।
ग्राहकले फेरारीमा आवाज, गति, नियन्त्रण र रेसिङको अनुभूति खोज्छ । त्यसैले नयाँ प्रविधि अपनाउँदा पनि पुरानो भावनालाई कसरी जोगाउने भन्ने प्रश्न महत्वपूर्ण हुनेछ ।
कम्पनीले नयाँ मोडलमार्फत यही सन्तुलन खोजिरहेको छ । सन् २०२५ मा फेरारीले छ वटा नयाँ मोडल सार्वजनिक गर्यो । नयाँ मोडलको विस्तारसँगै कम्पनीले उत्पादनको मात्रा भन्दा उत्पादनको मूल्य र ग्राहकको चाहनालाई प्राथमिकतामा राखेको छ ।
यसले फेरारीको भविष्य पनि संकेत गर्छ । प्रविधि बदलिनेछ, इन्जिन बदलिन सक्छ, तर ब्रान्डको मूल भावना बदलिन नदिने प्रयास हुनेछ ।
फेरारीले वास्तवमा के बेचिरहेको छ?
फेरारीले बाहिरबाट हेर्दा कार बेचिरहेको छ । तर उसको वास्तविक व्यापार कारभन्दा धेरै ठूलो छ ।
उसले प्रतिष्ठा बेचिरहेको छ । इतिहास बेचिरहेको छ । रेसिङको रोमाञ्च बेचिरहेको छ । दुर्लभता बेचिरहेको छ । व्यक्तिगत पहिचान बेचिरहेको छ । ग्राहकलाई अरूभन्दा अलग भएको अनुभूति बेचिरहेको छ ।
यही कारण फेरारीको मूल्य केवल कारको धातु, इन्जिन, पाङ्ग्रा र सिटमा हुँदैन । त्यसको ठूलो हिस्सा मानिसको दिमागमा हुन्छ ।
जब एउटा मानिसले रातो फेरारी देख्छ, उसले केवल एउटा कार देख्दैन । उसले एन्जो फेरारी सम्झन सक्छ । फर्मुला वान सम्झन सक्छ । शुमाकर सम्झन सक्छ । लेक्लेर्क सम्झन सक्छ । मारानेल्लो सम्झन सक्छ । रेसको आवाज सम्झन सक्छ ।
यही सम्झना फेरारीको सम्पत्ति हो ।
एउटा सपनाबाट बनेको साम्राज्य
१९४७ मा एन्जो फेरारीले आफ्नो नाम बोकेको पहिलो कार रेसमा उतार्दा संसारले त्यसलाई आजको फेरारीका रूपमा चिनेको थिएन । त्यो एउटा सानो कम्पनी थियो । स्रोत सीमित थिए । प्रतिस्पर्धा ठूलो थियो । पहिलो रेसमै कार रोकिएको थियो ।
तर केही दिनपछि त्यही कार जितेर फर्कियो ।
त्यसपछि फेरारीले रेसिङलाई आफ्नो पहिचान बनायो । रेसिङबाट प्रविधि आयो । प्रविधिबाट जित आयो । जितबाट नाम आयो । नामबाट ग्राहक आए । ग्राहकबाट पैसा आयो । पैसाबाट अझ राम्रो कार बन्यो । नयाँ कारले फेरि रेस जित्यो ।
यो चक्र दशकौँसम्म चल्यो । आज फेरारी वर्षमा हजारौँ कार बनाउँछ, तर लाखौँ कार बनाउने कम्पनी बन्न खोज्दैन ।
ग्राहकको माग बढ्दा उत्पादनलाई अनियन्त्रित रूपमा बढाउँदैन । बरु दुर्लभता कायम राख्छ । एउटा कारमा धेरै मूल्य थप्छ । पुराना ग्राहकलाई फेरि फर्काउँछ ।
नयाँ ग्राहकलाई सपना देखाउँछ । रेसिङलाई निरन्तरता दिन्छ । आफ्नो नाम कारभन्दा बाहिर पनि फैलाउँछ ।
यही कारण १३ हजार ६४० वटा कार पठाएर पनि ७ अर्ब १४ करोड ६० लाख युरोभन्दा बढी आम्दानी गर्न सक्ने व्यवसाय बनेको छ । कम्पनीले २०२६ का लागि करिब ७ अर्ब ५० करोड युरो आम्दानीको लक्ष्य राखेको छ ।
एन्जो फेरारीले सुरुमा ठूलो कार कम्पनी बनाउने सपना देखेका थिएनन् । उनी रेस जित्न चाहन्थे । तर रेस जित्ने त्यो सपना विस्तारै कार बनाउने व्यवसायमा बदलियो । कारको व्यवसाय प्रतिष्ठाको व्यवसायमा बदलियो ।
प्रतिष्ठा विलासिताको व्यवसायमा बदलियो । र अन्ततः एउटा रेसिङ टोलीबाट सुरु भएको यात्रा संसारकै शक्तिशाली विलासी कार साम्राज्यमध्ये एकमा पुगेको छ ।
फेरारीको कथा त्यसैले कारको कथा मात्र होइन । यो चाहना कसरी मूल्यमा बदलिन्छ भन्ने कथा हो ।
सीमितता कसरी शक्ति बन्न सक्छ भन्ने कथा हो । र एउटा मानिसको व्यक्तिगत रुचि कसरी पुस्तौँसम्म टिक्ने विश्वव्यापी व्यवसायमा बदलिन सक्छ भन्ने कथा हो ।
एन्जो फेरारीले रेस जित्ने सपना देखेका थिए । उनले कार बनाए । कारले रेस जित्यो । रेसले फेरारीको नाम संसारभर पुर्यायो । त्यो नामले मानिसमा चाहना जगायो । चाहनाले दुर्लभता सिर्जना गर्यो । दुर्लभताले मूल्य बढायो ।
आज फेरारीको सबैभन्दा ठूलो सम्पत्ति त्यसको कारखानामा मात्र छैन । त्यो संसारभरका मानिसको कल्पनामा छ ।
यही कल्पनालाई व्यवसायमा बदल्न सक्नु नै फेरारीको सबैभन्दा ठूलो सफलता हो ।
