धादिङ। भाद्र १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली नदी र यसका सहायक खोलाहरूमा थुप्रिएको बालुवा निकाल्न स्थानीयहरू व्यस्त भएका छन्। बाढीले नदीको बहाव क्षेत्र परिवर्तन गर्दै ठूलो परिमाणमा बालुवा, गिट्टी र गेग्रान थुपारेपछि स्थानीय व्यवसायी र मजदुरहरू उत्खननमा जुटेका हुन्।
विशेषगरी धादिङको बेल्खु खोला तथा नुवाकोट र धादिङको सिमानामा पर्ने कोल्पु खोलामा अहिले बालुवा संकलनको काम तीव्र छ। बाढीले माथिल्लो क्षेत्रबाट बगाएर ल्याएको बालुवा खोलाका किनारमा जम्मा भएको छ। कतिपय स्थानमा ठूलो मात्रामा गेग्रान जम्मा भएकाले मजदुरहरूले डोजर र एक्साभेटरजस्ता उपकरण प्रयोग गरेर बालुवा संकलन गरिरहेका छन्। संकलित बालुवा ट्र्याक्टर र टिपरमार्फत नजिकका बजार तथा निर्माणस्थलसम्म पुर्याइँदै छ।
बाढीले सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्याए पनि नदीमा थुप्रिएको बालुवा स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ। पुनर्निर्माणका काममा निर्माण सामग्रीको माग बढ्ने भएकाले यसबाट राम्रो आम्दानी हुने व्यवसायीहरूको अपेक्षा छ।
यद्यपि, जथाभाबी उत्खननले थप जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीयहरू चिन्तित छन्। बाढीपछि नदीको प्राकृतिक संरचना कमजोर बनेको अवस्थामा अनियन्त्रित उत्खननले तटबन्ध कटान बढाउने, सडक र पुलका संरचनामा असर पार्ने तथा आसपासका बस्तीलाई जोखिममा पार्ने खतरा छ।
त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीले सडक कटान र भू-क्षय पुर्याएको छ। यसैले स्थानीय तहले वातावरणीय प्रभाव, नदीको बहाव र भौतिक संरचनाको सुरक्षालाई ध्यानमा राख्दै मापदण्ड बनाएर मात्र उत्खननको अनुमति र निगरानी गर्नुपर्ने आवश्यकता देखिएको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा आएको बाढीले जलविद्युत् आयोजनालगायतका संरचनामा पनि ठूलो क्षति पुर्याएको छ।
