काठमाडौं। यस वर्षको शरद ऋतुमा मनास्लु हिमाल आरोहण गर्न ४६६ जना विदेशी पर्वतारोहीले अनुमति लिएका छन्। पर्यटन विभागका निर्देशक सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ३४२ पुरुष र १२४ महिला रहेका छन्। आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित छ।
आरोहीहरू र उनीहरूका सहयोगीहरू अहिले आधार शिविर पुगिसकेका छन्। आधार शिविरमा टेन्टहरू स्थापना गरिएका छन् र आरोहणका लागि आवश्यक सामग्री व्यवस्थापनको काम भइरहेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) गोरखाले जनाएको छ। आरोहण टोलीले क्याम्प-३ सम्मको बाटोमा डोरी टाँग्ने काम पूरा गरिसकेका छन्।
मौसम अनुकूल रहेमा थप माथिल्लो भागमा पनि बाटो निर्माण गरिने एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिनुभयो। यात्रा सफल हुने विश्वाससहित आधार शिविरमा परम्परागत पूजासमेत गरिएको छ।
विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमालका रूपमा रहेको मनास्लु पछिल्लो समय विदेशी पर्वतारोहीको रोजाइमा पर्दै आएको छ। कठिन भूगोलका कारण ‘किलर माउन्टेन’ उपनामले पनि चिनिने यस हिमालमा यस वर्ष अन्य हिमालको तुलनामा उल्लेख्य आकर्षण देखिएको छ। सामागाउँदेखि आधार शिविरसम्मको छोटो दूरीका कारण पनि आरोहीहरूका लागि यो सहज मानिन्छ।
सन् १९५६ मे ९ मा जापानी नागरिक तोशियो इमानिशी र नेपाली नागरिक ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थिए। यस वर्षको आरोहण गतिविधिले उत्तरी गोरखाको सामागाउँसहित समग्र मनास्लु क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
