काठमाडौं। कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना हुने भएको छ। युवा जनशक्तिको सीपलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले असोज २० गतेसम्म मेला सञ्चालन गरिने युवा तथा श्रम मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गर्दै देशभर यस्ता मेला आयोजना गर्ने तयारी थालेको हो। निर्देशिकाअनुसार मेलाको व्यवस्थापन र सञ्चालनका लागि मन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरिनेछ। यसका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ।
मेलामा निजी क्षेत्र, उद्योग, शैक्षिक तथा तालिम प्रदायक संस्था र सरकारी निकायहरूले स्टल राखी सेवा प्रवाह गर्नेछन्। रोजगारदाता र रोजगारी खोज्नेहरूबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै वास्तविक जनशक्तिको माग पहिचान गर्ने मेलाको मुख्य लक्ष्य रहेको छ। यसले रोजगार खोजकर्ताको योग्यता र रुचिअनुसार अवसर जुटाउनुका साथै सीप परीक्षण, तालिम, करियर परामर्श र उद्यमशीलताका सेवाहरू प्रदान गर्नेछ।
मेलास्थलमा सूचना कक्ष, अन्तर्वार्ता क्षेत्र, श्रम कानुन र सामाजिक सुरक्षासम्बन्धी जानकारी डेस्क तथा प्राथमिक उपचारलगायतका व्यवस्था गरिनेछ। मन्त्रालयले यस अभियानमा सहभागी हुन सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
