दोस्रो विश्वयुद्ध समाप्त हुँदा जापान केवल सैन्य पराजयबाट गुज्रिएको थिएन, उसको औद्योगिक संरचना, पूर्वाधार र अर्थतन्त्र पनि गम्भीर रूपमा क्षतिग्रस्त थियो।
टोकियोसहित प्रमुख सहरका धेरै भाग युद्धका बमबारीबाट ध्वस्त भएका थिए, उद्योगहरू पुनः सञ्चालनको प्रयासमा थिए र उपभोक्ता बजारमा अभाव तथा अनिश्चितता कायम थियो।
त्यही कठिन समयमा दुई जापानी प्रविधि उद्यमी मासारु इबुकाले एउटा यस्तो कम्पनी निर्माण गर्ने योजना बनाए, जसले तत्कालको बजार आवश्यकतालाई मात्र सम्बोधन नगरी प्रविधिको भविष्यमा पनि आफ्नो स्थान बनाउन सकोस्।
अकिओ मोरितासँगको सहकार्यपछि ७ मे १९४६ मा स्थापना भएको टोकियो त्सुशिन कोग्योले त्यही सपना बोकेर आफ्नो यात्रा सुरु गर्यो।
कम्पनीको सुरुआती अवस्था आजको सोनीसँग तुलना गर्न सकिने खालको थिएन।
सोनीको आधिकारिक इतिहासअनुसार प्रारम्भिक पूँजी १ लाख ९० हजार जापानी येन थियो र कर्मचारी संख्या २० जनाभन्दा केही बढी थियो।
टोकियोको निहोम्बासीस्थित शिरोकिया डिपार्टमेन्ट स्टोरको करिब ३० वर्गमिटरको सानो कोठाबाट कम्पनीको काम सुरु भएको थियो। युद्धका कारण उक्त कार्यकक्षका झ्यालमा समेत सिसा थिएन।
ठूलो कारखाना, ठूलो वितरण सञ्जाल वा स्थापित ब्रान्ड नभएको कम्पनीले सुरुआतमा रेडियो मर्मत र विद्युतीय उपकरणको काम गर्दै आफ्नो बजार पहिचान गर्न थाल्यो।
सुरुआती चरणमा कम्पनीले विद्युतीय चामल पकाउने भाँडो उत्पादन गर्ने प्रयास पनि गर्यो।
उत्पादनले अपेक्षित परिणाम दिन सकेन र कम्पनीको पहिलो उत्पादन प्रयास असफल भयो।
यही असफलताले बजारमा प्रविधि प्रस्तुत गर्नु मात्र पर्याप्त नहुने, उपभोक्ताको वास्तविक आवश्यकता र उत्पादनको प्रयोगात्मक पक्षलाई पनि बराबर महत्व दिनुपर्ने पाठ सिकायो।
त्यसपछि इबुका र मोरिताले कम्पनीको क्षमता ध्वनि तथा सञ्चार प्रविधिमा केन्द्रित गर्ने निर्णय गरे, जहाँबाट सोनीको दीर्घकालीन व्यवसायिक पहिचान निर्माण हुन थाल्यो।
टेप रेकर्डरबाट प्रविधिको आधार
सन् १९५० मा टोकियो त्सुशिन कोग्योले ‘जी-टाइप’ टेप रेकर्डर सार्वजनिक गर्यो।
आकारमा ठूलो र तत्कालीन उपभोक्ताका लागि महँगो भए पनि यो उत्पादनले कम्पनीलाई रेकर्डिङ तथा ध्वनि प्रविधिको क्षेत्रमा आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर दियो।
सोनीको इतिहासमा टेप रेकर्डरको विकासलाई कम्पनीको प्रविधि यात्राको महत्वपूर्ण आधार मानिन्छ, किनकि यही अवधिमा इन्जिनियरिङ र उत्पादन विकासमा कम्पनीले आफ्नो विशेषज्ञता विस्तार गर्दै लगेको थियो।
मासारु इबुकाको प्राविधिक नेतृत्व र अकिओ मोरिताको व्यापारिक दृष्टिकोणबीचको संयोजन सोनीको प्रारम्भिक सफलताको महत्वपूर्ण आधार बन्यो।
इबुकाले उत्पादन र प्रविधिको विकासमा ध्यान दिए भने मोरिताले बजार, ब्रान्ड र अन्तर्राष्ट्रिय विस्तारको सम्भावना पहिचान गरे।
जापानी बजारमा सीमित भएर बस्नुको सट्टा कम्पनीले विश्व बजारलाई लक्ष्य बनाउने रणनीति सुरु गर्यो, जुन त्यस समयका धेरै जापानी उत्पादकभन्दा फरक दृष्टिकोण थियो।
सोनीले सुरुदेखि नै उत्पादनको गुणस्तरलाई ब्रान्ड निर्माणसँग जोड्ने प्रयास गर्यो।
जापानी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा सस्तो वा कम गुणस्तरको वस्तुका रूपमा हेरिने धारणालाई परिवर्तन गर्न कम्पनीले प्रविधि, डिजाइन र विश्वसनीयतालाई प्रतिस्पर्धाको आधार बनायो। यही सोच पछि सोनीको प्रिमियम ब्रान्ड पहिचानको आधार बन्न पुग्यो।
ट्रान्जिस्टर रेडियोले खोलेको विश्व बजार
सन् १९५५ मा कम्पनीले ‘टीआर–५५’ ट्रान्जिस्टर रेडियो सार्वजनिक गर्यो। ट्रान्जिस्टर प्रविधिलाई आम उपभोक्ताको दैनिक जीवनमा प्रयोग हुने सानो रेडियोमा रूपान्तरण गर्ने निर्णय सोनीको महत्वपूर्ण व्यवसायिक मोड थियो।
ठूलो र एउटै स्थानमा राखेर सुन्नुपर्ने रेडियोको तुलनामा सानो ट्रान्जिस्टर रेडियो बोकेर हिँड्न सकिन्थ्यो, जसले रेडियोलाई पारिवारिक उपकरणबाट व्यक्तिगत मनोरञ्जनको साधनतर्फ लैजान थाल्यो।
यो परिवर्तनले सोनीका लागि नयाँ बजार मात्र खोलेन, कम्पनीको अन्तर्राष्ट्रिय महत्वाकांक्षालाई पनि बलियो बनायो। सोनीले जापानमा मात्र उत्पादन बेच्नेभन्दा विदेशमा आफ्नै ब्रान्ड स्थापना गर्ने रणनीति अपनायो।
अमेरिकी बजारमा प्रवेश गर्दा स्थानीय कम्पनीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने चुनौती भए पनि मोरिताले जापानी उत्पादनको छुट्टै पहिचान निर्माण गर्ने बाटो रोजे।
सन् १९५८ मा टोकियो त्सुशिन कोग्योको नाम परिवर्तन गरेर ‘सोनी कर्पोरेसन’ राखियो। छोटो, उच्चारण गर्न सजिलो र अन्तर्राष्ट्रिय बजारमा प्रयोग गर्न सकिने नाम रोज्नु कम्पनीको विश्वव्यापी ब्रान्ड रणनीतिको महत्वपूर्ण हिस्सा थियो।
नाम परिवर्तनसँगै सोनीले आफूलाई जापानी इलेक्ट्रोनिक्स उत्पादकबाट अन्तर्राष्ट्रिय प्रविधि ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्यलाई थप स्पष्ट बनायो।
ट्रिनिट्रोनले बनाएको प्रिमियम ब्रान्ड
सन् १९६० को दशकमा सोनीले अमेरिकी बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै गयो। सन् १९६० मा सोनी कर्पोरेसन अफ अमेरिका स्थापना भयो र कम्पनीले आफ्नो उत्पादनलाई अमेरिकी उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने संरचना विकास गर्यो।
यसै अवधिमा कम्पनीले टेलिभिजन प्रविधिमा ठूलो लगानी गर्यो, जसको परिणामस्वरूप सन् १९६८ मा ट्रिनिट्रोन कलर टेलिभिजन बजारमा आयो।
ट्रिनिट्रोनले सोनीको ब्रान्डलाई नयाँ उचाइमा पुर्यायो। उत्कृष्ट दृश्य गुणस्तर, रंग प्रस्तुति र प्रविधिगत विशेषताका कारण यो टेलिभिजन लामो समयसम्म सोनीको प्रमुख उत्पादनमध्ये रह्यो।
यसले कम्पनीलाई ठूलो परिमाणमा सस्तो उत्पादन बेच्ने प्रतिस्पर्धाबाट हटाएर गुणस्तर, डिजाइन र प्रविधिको आधारमा प्रिमियम बजारमा स्थान बनाउने अवसर दियो।
यही अवधिमा सोनीले अन्तर्राष्ट्रिय पूँजी बजारमा पनि आफ्नो पहुँच विस्तार गर्यो। कम्पनीले अमेरिकी डिपोजिटरी रिसिप्ट जारी गर्ने पहिलो जापानी कम्पनीको स्थान बनायो र पछि न्युयोर्क स्टक एक्सचेन्जमा समेत सूचीकृत भयो।
विश्व बजारमा ब्रान्ड विस्तारसँगै अन्तर्राष्ट्रिय वित्तीय संरचनासँग जोडिने यो रणनीतिले सोनीलाई जापानबाहिर पनि संस्थागत रूपमा बलियो बनाउँदै लग्यो।
वाकम्यानले बदलिदिएको संगीत संस्कृति
सोनीको इतिहासमा सन् १९७९ एउटा निर्णायक वर्ष बन्यो। कम्पनीले ‘वाकम्यान’ बजारमा ल्यायो, जसले व्यक्तिगत संगीत सुन्ने शैली नै परिवर्तन गर्यो।
त्यसअघि संगीत सुन्न रेडियो, रेकर्ड प्लेयर वा घरमा राखिने ठूलो उपकरणमा निर्भर रहनुपर्थ्यो। वाकम्यानले भने संगीतलाई व्यक्तिको साथमा हिँड्ने बनायो।
पहिलो वाकम्यानमा रेकर्डिङ सुविधा थिएन। त्यसैले बजारमा यसको व्यावसायिक सम्भावनाबारे शंका पनि थियो।
सोनीले भने उपभोक्ताको नयाँ आवश्यकता पहिचान गर्यो, मानिसलाई केवल संगीत चाहिएको थिएन, आफ्नो रोजाइको संगीत जहाँसुकै सुन्न सक्ने स्वतन्त्रता पनि चाहिएको थियो।
वाकम्यान यही स्वतन्त्रताको उत्पादन बन्यो। सार्वजनिक यातायातमा यात्रा गर्ने, सडकमा हिँड्ने वा घरबाहिर समय बिताउने मानिसका लागि व्यक्तिगत संगीतको नयाँ संस्कार विकास भयो।
सन् १९९८ को आर्थिक वर्षको अन्त्यसम्म क्यासेट वाकम्यानको विश्वव्यापी सञ्चित ढुवानी १८ करोड ६० लाख थान पुगेको सोनीले जनाएको छ।
वाकम्यानको प्रभाव बिक्रीमा मात्र सीमित रहेन, यसले व्यक्तिगत मनोरञ्जनको अवधारणालाई विश्वव्यापी संस्कृतिको हिस्सा बनायो।
हार्डवेयरबाट मनोरञ्जन व्यवसायतर्फ
सोनीको व्यवसायिक विस्तारको अर्को महत्वपूर्ण चरण मनोरञ्जन उद्योगमा प्रवेश थियो।
कम्पनीले प्रविधि उपकरण उत्पादन गरेर मात्र दीर्घकालीन प्रतिस्पर्धात्मक शक्ति कायम गर्न कठिन हुने र सामग्री तथा वितरणमा पनि नियन्त्रण आवश्यक हुने बुझाइ विकास गर्यो। यही सोचबाट संगीत र चलचित्र व्यवसायमा प्रवेश गर्ने रणनीति अघि बढ्यो।
सन् १९८८ मा सोनीले सीबीएस रेकर्ड्स खरिद गर्यो। त्यसको एक वर्षपछि सन् १९८९ मा कोलम्बिया पिक्चर्स इन्टरटेनमेन्ट खरिद गर्यो।
कोलम्बिया पिक्चर्सको अधिग्रहणमा दायित्वसहित करिब ४.८ अर्ब अमेरिकी डलर खर्च भएको सोनीको इतिहासमा उल्लेख छ।
अमेरिकी मनोरञ्जन उद्योगको ठूलो कम्पनी जापानी समूहले खरिद गरेपछि त्यसबेला अमेरिकामा यसको आर्थिक र सांस्कृतिक प्रभावबारे व्यापक बहस भयो।
तर सोनीको रणनीतिक उद्देश्य स्पष्ट थियो। कम्पनीले इलेक्ट्रोनिक्स उपकरण र त्यसमा प्रयोग हुने मनोरञ्जन सामग्रीलाई एउटै व्यवसायिक संरचनामा जोड्न खोजेको थियो।
संगीत, चलचित्र, टेलिभिजन, गेमिङ र इलेक्ट्रोनिक्सलाई एउटै समूहभित्र राख्दा एउटा व्यवसायले अर्को व्यवसायलाई ग्राहक, सामग्री र प्रविधिका माध्यमबाट सहयोग गर्न सक्ने संरचना विकास भयो।
प्लेस्टेशनले बनाएको नयाँ साम्राज्य
सन् १९९४ मा जापानमा पहिलो प्लेस्टेशन सार्वजनिक भएपछि सोनीको व्यवसायिक संरचनामा अर्को ठूलो परिवर्तन आयो। त्यसबेला गेमिङ बजारमा निन्टेन्डो र सेगा जस्ता कम्पनीको बलियो प्रभाव थियो।
सोनीले भने खेललाई केवल मनोरञ्जन उत्पादनका रूपमा नभई ठूलो डिजिटल उद्योगको रूपमा हेर्दै नयाँ प्रविधि र ठूलो भण्डारण क्षमतासहितको कन्सोल विकास गर्यो।
सीडी प्रविधि, त्रिआयामिक ग्राफिक्स र नयाँ प्रकारका खेलहरूले प्लेस्टेशनलाई बजारमा तीव्र रूपमा स्थापित गराए।
पहिलो प्लेस्टेशनको विश्वव्यापी सञ्चित बिक्री १० करोड २४ लाखभन्दा बढी पुगेको सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्टले जनाएको छ। प्लेस्टेशन २ को बिक्री १६ करोडभन्दा बढी पुगेको छ, जसले यसलाई इतिहासकै सर्वाधिक बिक्री भएका गेमिङ कन्सोलमध्ये स्थापित गरेको छ।
प्लेस्टेशनको सफलताले सोनीलाई गेमिङ हार्डवेयर बेच्ने कम्पनीमा मात्र सीमित राखेन।
खेल विकास, डिजिटल सामग्री, अनलाइन सेवा, सदस्यता, नेटवर्क सेवा र बौद्धिक सम्पत्तिसँग जोडिएको विशाल मनोरञ्जन व्यवसाय निर्माण भयो। यसले सोनीको व्यवसायमा दीर्घकालीन आम्दानीको नयाँ आधार सिर्जना गर्यो।
डिजिटल युगमा सोनीको कठिन समय
सोनीको सफलता सधैँ निरन्तर उकालोमा भने रहेन।
सन् २००० को दशकमा डिजिटल प्रविधिको तीव्र विकाससँगै कम्पनीका परम्परागत व्यवसायमाथि दबाब बढ्यो।
एलसीडी टेलिभिजनको विस्तारले ट्रिनिट्रोनको प्रभुत्व कमजोर बनायो भने सामसुङ र एलजीजस्ता कम्पनीहरूले टेलिभिजन बजारमा तीव्र प्रतिस्पर्धा सिर्जना गरे।
संगीत बजारमा पनि ठूलो परिवर्तन आयो। डिजिटल डाउनलोड, एमपी३, आइपोड र पछि स्मार्टफोनले वाकम्यानको परम्परागत व्यवसायिक आधारलाई कमजोर बनाए।
सोनीसँग प्रविधि भए पनि बजार परिवर्तनको गतिसँग कम्पनीको प्रतिक्रिया सधैँ समान गतिमा अघि बढ्न सकेन।
मोबाइल, टेलिभिजन र व्यक्तिगत कम्प्युटरजस्ता केही व्यवसायमा दबाब बढेपछि कम्पनीले पुनर्संरचनाको आवश्यकता महसुस गर्यो। यही अवस्थाबाट सोनीको दोस्रो ठूलो रूपान्तरण सुरु भयो।
हिराईको रणनीतिले बदलेको व्यवसायिक संरचना
सन् २०१२ मा काजुओ हिराई प्रमुख कार्यकारी बनेपछि सोनीले घाटामा रहेका तथा भविष्यमा पर्याप्त प्रतिस्पर्धात्मक लाभ दिन नसक्ने व्यवसायलाई पुनर्संरचना गर्ने रणनीति अघि बढायो।
भायो व्यक्तिगत कम्प्युटर व्यवसायबाट कम्पनी बाहिरियो, टेलिभिजन र मोबाइल व्यवसायलाई पुनर्गठन गरियो र गेमिङ, इमेज सेन्सर, संगीत तथा चलचित्रमा लगानी केन्द्रित गरियो।
यसको मूल उद्देश्य सोनीलाई सबै क्षेत्रमा ठूलो बन्ने कम्पनी बनाउनु होइन, आफूले विश्वस्तरीय प्रतिस्पर्धात्मक क्षमता राख्ने क्षेत्रमा केन्द्रित गर्नु थियो।
यही रणनीतिले कम्पनीलाई उपभोक्ता इलेक्ट्रोनिक्सको पुरानो संरचनाबाट प्रविधि, सामग्री र डिजिटल मनोरञ्जनको मिश्रित व्यवसायमा रूपान्तरण गर्यो।
सोनीको पछिल्लो वित्तीय संरचनाले पनि यही परिवर्तन देखाउँछ। कम्पनीको व्यवसायिक आधार अब टेलिभिजन वा अडियो उपकरणमा मात्र निर्भर छैन।
गेमिङ, संगीत, चलचित्र, इमेज सेन्सर, क्यामेरा र अन्य प्रविधि व्यवसायले फरक फरक आम्दानीका आधार सिर्जना गरेका छन्।
मोबाइलको पछाडि रहेको सेमिकन्डक्टर शक्ति
सोनीको आधुनिक व्यवसायिक सफलताको एउटा महत्वपूर्ण तर कम देखिने पक्ष इमेज सेन्सर हो। विश्वका धेरै स्मार्टफोन, क्यामेरा र अन्य डिजिटल उपकरणमा प्रयोग हुने इमेज सेन्सर उत्पादनमा सोनीको महत्वपूर्ण स्थान छ।
सोनीको सन् २०२४ को कर्पोरेट रिपोर्टअनुसार सन् २०२३ मा आम्दानीका आधारमा विश्व इमेज सेन्सर बजारमा कम्पनीको हिस्सा ५३ प्रतिशत थियो।
कम्पनीले त्यसलाई थप विस्तार गर्ने लक्ष्यसमेत राखेको थियो। यसले सोनीको व्यवसायिक परिवर्तनलाई राम्रोसँग देखाउँछ।
कम्पनीको आफ्नै स्मार्टफोनले विश्व बजारमा एप्पल वा सामसुङको स्तरको बिक्री नगरे पनि स्मार्टफोनको क्यामेरा प्रविधि आपूर्ति गर्ने व्यवसायमा सोनीको प्रभाव बलियो छ।
अर्थात् उपभोक्ताले सोनीको लोगो नदेखे पनि उसको हातमा रहेको उपकरणभित्र सोनीको प्रविधि हुन सक्छ।
यही ‘पर्दापछाडिको प्रविधि’ सोनीको आधुनिक व्यवसायको महत्वपूर्ण शक्ति बनेको छ।
१२.९५७ ट्रिलियन येनको व्यवसायिक साम्राज्य
सन् २०२५ मार्च ३१ सम्म सोनी समूहमा १ लाख १२ हजार ३०० कर्मचारी कार्यरत थिए। आर्थिक वर्ष २०२४ मा कम्पनीको बिक्री तथा वित्तीय सेवा आम्दानी १२.९५७ ट्रिलियन येन पुगेको थियो।
सोही अवधिमा सञ्चालन आम्दानी १.४०७ ट्रिलियन येन र सोनी समूहका सेयरधनीलाई जिम्मेवार खुद आम्दानी १.१४१ ट्रिलियन येन थियो।
व्यवसायको संरचना हेर्दा गेमिङ सोनीको सबैभन्दा महत्वपूर्ण आम्दानी स्रोत बनेको छ। आर्थिक वर्ष २०२४ मा गेम एन्ड नेटवर्क सर्भिसेसबाट ४.६७ ट्रिलियन येन बराबरको बिक्री भएको थियो।
संगीत व्यवसायबाट १.८४ ट्रिलियन येन, चलचित्र तथा चित्र व्यवसायबाट १.५१ ट्रिलियन येन, मनोरञ्जन प्रविधि तथा सेवा व्यवसायबाट २.४१ ट्रिलियन येन र इमेजिङ तथा सेन्सिङ सोलुसन्सबाट १.८० ट्रिलियन येन बराबरको बिक्री भएको सोनीको विवरणमा उल्लेख छ।
यी तथ्यांकले सोनी अब परम्परागत इलेक्ट्रोनिक्स कम्पनी नरहेको स्पष्ट पार्छ।
यसको व्यवसायिक शक्ति विभिन्न क्षेत्रमा फैलिएको छ र एउटा व्यवसायमा आएको उतारचढावलाई अर्को व्यवसायले केही हदसम्म सन्तुलित गर्न सक्ने संरचना निर्माण भएको छ।
प्रविधिभन्दा माथि ‘अनुभव’ बेच्ने रणनीति
सोनीको अहिलेको रणनीति नयाँ उपकरण बनाउनेभन्दा पनि प्रविधि, सामग्री र सिर्जनशीलतालाई जोडेर उपभोक्तालाई नयाँ अनुभव दिने दिशामा अघि बढिरहेको छ।
कम्पनीले आफ्नो दीर्घकालीन रणनीतिमा सिर्जनशील मनोरञ्जन र प्रविधिको संयोजनलाई महत्व दिएको छ।
यो रणनीति वाकम्यानदेखि प्लेस्टेशनसम्मको यात्रासँग जोडिन्छ। वाकम्यानले मानिसलाई संगीत सुन्ने नयाँ अनुभव दियो। प्लेस्टेशनले खेललाई डिजिटल मनोरञ्जनको नयाँ स्तरमा पुर्यायो।
क्यामेरा र इमेज सेन्सरले फोटो तथा भिडियो सिर्जनाको क्षमता विस्तार गर्यो भने संगीत र चलचित्र व्यवसायले सामग्रीलाई कम्पनीको आफ्नै व्यवसायिक संरचनामा जोड्यो।
यसरी सोनीको प्रतिस्पर्धा केवल ‘कुन उपकरण राम्रो’ भन्ने प्रश्नमा सीमित छैन। कम्पनीले प्रविधि, सामग्री, कलाकार, खेल, चलचित्र र डिजिटल सेवाबीचको सम्बन्धलाई व्यवसायिक शक्तिका रूपमा प्रयोग गरिरहेको छ।
आफिलाबाट पछाडि हटेको रणनीति
भविष्यको प्रविधिमा प्रवेश गर्ने क्रममा सोनीले अटोमोबाइल क्षेत्रमा पनि महत्वाकांक्षी योजना अघि सारेको थियो। होन्डासँग सहकार्य गरेर सोनी होन्डा मोबिलिटी स्थापना गरिएको थियो र आफिला ब्रान्डअन्तर्गत विद्युतीय सवारी विकास गर्ने योजना बनाइएको थियो।
तर कम्पनीले प्रत्येक नयाँ क्षेत्रमा प्रवेशलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राखेन।
मार्च २०२६ मा सोनी र होन्डाले आफिला १ तथा दोस्रो आफिला मोडलको विकास र बजारमा ल्याउने योजना बन्द गर्ने निर्णय गरे। त्यसपछि संयुक्त कम्पनीको व्यवसायिक दिशा पुनर्विचार गर्ने प्रक्रिया अघि बढ्यो।
यो निर्णय सोनीको अर्को महत्वपूर्ण व्यवसायिक पाठ हो। नवीनता भनेको नयाँ क्षेत्रमा प्रवेश गर्नु मात्र होइन, बजारको सम्भावना, लागत, प्रतिस्पर्धा र दीर्घकालीन प्रतिफलको पुनर्मूल्यांकन गर्दै आवश्यक पर्दा रणनीति परिवर्तन गर्नु पनि हो।
असफलताबाट पुनःनिर्माणसम्मको संस्कृति
सोनीको इतिहासमा असफलता अपरिचित विषय होइन।
विद्युतीय राइस कुकरदेखि बेटाम्याक्ससम्म र व्यक्तिगत कम्प्युटर तथा मोबाइल व्यवसायसम्म कम्पनीले विभिन्न चरणमा अपेक्षित सफलता हासिल गर्न सकेन। तर यी असफलताले कम्पनीलाई एउटै व्यवसायिक ढाँचामा अड्काएर राखेनन्।
सोनीको दीर्घकालीन शक्ति यही पुनर्संरचनामा देखिन्छ।
कम्पनीले एक समय रेडियोमा आफ्नो भविष्य देख्यो, त्यसपछि टेलिभिजनमा विस्तार गर्यो, वाकम्यानमार्फत व्यक्तिगत संगीतको बजार निर्माण गर्यो, मनोरञ्जन उद्योगमा प्रवेश गर्यो, प्लेस्टेशनमार्फत गेमिङमा प्रभुत्व निर्माण गर्यो र अहिले सेमिकन्डक्टर तथा डिजिटल मनोरञ्जनमा आफ्नो स्थान बलियो बनाइरहेको छ।
यसको अर्थ सोनीको व्यवसायिक इतिहास सफल उत्पादनहरूको सूची मात्र होइन। यो बदलिँदो प्रविधि र उपभोक्ता व्यवहारअनुसार कम्पनीले आफ्नो पहिचान पटकपटक पुनःनिर्माण गरेको इतिहास हो।
साना स्रोतबाट विश्वव्यापी ब्रान्डसम्म
सोनीको सुरुआती इतिहासलाई केवल ‘सानो पूँजीबाट सुरु भएको ठूलो कम्पनी’ भन्ने प्रेरणादायी कथामा सीमित गर्दा यसको वास्तविक व्यवसायिक महत्व छुट्न सक्छ।
कम्पनीको असली शक्ति सीमित स्रोतलाई उपयोग गरेर नयाँ बजार पहिचान गर्ने, उत्पादनलाई ब्रान्डसँग जोड्ने र अन्तर्राष्ट्रिय बजारमा प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धा गर्ने रणनीतिमा थियो।
मासारु इबुकाको इन्जिनियरिङ क्षमता र अकिओ मोरिताको अन्तर्राष्ट्रिय व्यापार दृष्टिकोणले कम्पनीलाई सुरुदेखि नै उत्पादन र बजारबीचको सम्बन्ध बुझ्न मद्दत गर्यो।
त्यसपछि नेतृत्व परिवर्तन हुँदै गए पनि कम्पनीले प्रविधि र सिर्जनशीलताको संयोजनलाई आफ्नो व्यवसायिक पहिचानका रूपमा कायम राख्यो।
यही कारण सोनीले दशकौंसम्म एउटै उत्पादनमा निर्भर हुनुपरेन। रेडियो पुरानो भयो, कम्पनी टेलिभिजनमा गयो।
टेलिभिजनको बजार बदलिएपछि व्यक्तिगत संगीतमा नयाँ सम्भावना खोजियो। संगीतको बजार डिजिटल भएपछि गेमिङ र मनोरञ्जनमा विस्तार भयो।
उपभोक्ता इलेक्ट्रोनिक्सको प्रतिस्पर्धा तीव्र भएपछि सेमिकन्डक्टर र उच्च प्रविधिका कम्पोनेन्टमा कम्पनीले आफ्नो शक्ति बढायो।
सोनीको सबैभन्दा ठूलो व्यवसायिक सम्पत्ति यही परिवर्तनशीलता हो।
ध्वनिबाट सुरु भएको यात्रा अझै जारी
सन् १९४६ मा युद्धपछिको जापानको कठिन आर्थिक र सामाजिक परिस्थितिमा सुरु भएको टोकियो त्सुशिन कोग्यो आज विश्वव्यापी सोनी समूहमा रूपान्तरण भइसकेको छ।
प्रारम्भिक पूँजी सीमित थियो, जनशक्ति सानो थियो र पहिलो उत्पादनसमेत असफल भएको थियो। तर कम्पनीले असफलतालाई अन्त्यका रूपमा नहेरी नयाँ बजार र नयाँ प्रविधितर्फ जाने अवसरका रूपमा उपयोग गर्यो।
ट्रान्जिस्टर रेडियोले कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्यायो। ट्रिनिट्रोनले प्रिमियम इलेक्ट्रोनिक्स ब्रान्डको पहिचान निर्माण गर्यो।
वाकम्यानले व्यक्तिगत संगीतको संस्कृति परिवर्तन गर्यो। संगीत र चलचित्र व्यवसायले हार्डवेयरलाई सामग्रीसँग जोड्यो। प्लेस्टेशनले गेमिङलाई सोनीको प्रमुख व्यवसायिक आधार बनायो।
इमेज सेन्सर व्यवसायले कम्पनीलाई स्मार्टफोन र डिजिटल उपकरणको विश्वव्यापी आपूर्ति शृंखलासँग जोड्यो।
आज सोनीको कारोबार खरबौँ येनमा पुगेको छ र विश्वभर एक लाखभन्दा बढी कर्मचारी यस समूहसँग जोडिएका छन्। तर कम्पनीको सबैभन्दा महत्वपूर्ण उपलब्धि यसको आकार होइन, आठ दशकमा पटकपटक आफ्नो व्यवसायिक पहिचान परिवर्तन गर्न सक्ने क्षमता हो।
युद्धपछिको जापानको सानो कार्यकक्षबाट सुरु भएको कम्पनीले संसारलाई केवल इलेक्ट्रोनिक्स उत्पादन बेचेन।
उसले मानिसको संगीत सुन्ने तरिका परिवर्तन गर्यो, खेल्ने तरिका परिवर्तन गर्यो, चलचित्र र संगीत उपभोग गर्ने तरिकामा प्रभाव पार्यो र डिजिटल उपकरणभित्र प्रयोग हुने प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेल्यो।
सोनीको कथा त्यसैले एउटा जापानी कम्पनी विश्वव्यापी बनेको कथा मात्र होइन।
यो प्रविधिको बजारमा लामो समय टिक्न उत्पादनभन्दा ठूलो कुरा निरन्तर नवीनता, ब्रान्ड निर्माण, बजारको परिवर्तन बुझ्ने क्षमता र आवश्यक पर्दा आफ्नै सफल व्यवसायलाई समेत पुनःपरिभाषित गर्ने साहस हो।
सन् १९४६ मा सीमित स्रोतबाट सुरु भएको त्यो यात्रा अहिले पनि जारी छ।
फरक यति हो, सुरुआतमा सोनीले मानिसले कसरी रेडियो सुन्छ भन्ने प्रश्नको उत्तर खोजिरहेको थियो भने आज उसले मानिसले प्रविधि, मनोरञ्जन र सिर्जनशीलतालाई कसरी अनुभव गर्छ भन्ने ठूलो बजारको उत्तर खोजिरहेको छ।
यही निरन्तर खोजले सोनीलाई आठ दशकपछि पनि विश्व प्रविधि र मनोरञ्जन उद्योगको महत्वपूर्ण नामका रूपमा कायम राखेको छ।
